काठमाडौं, १० फागुन २०७५ । संयुक्त अधिराज्य (बेलायत)ले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उनकै कार्यकक्षमा भएको भेटमा बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गरेका हुन् ।

नेपालको विकास–निर्माण, शान्ति प्रक्रिया, आपत्कालीन सहयोगलगायत बेलायतबाट प्राप्त सहयोग, नेपालको विकासको विश्वासिलो साझेदार तथा बहुआयामिक सम्बन्धयुक्त उक्त देशप्रतिको नेपाल र नेपालीको धारणाजस्ता विषयमा आफूहरूले छलफल गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान, उनीहरूका मागको उचित सम्बोधन तथा त्यसको निरुपणलाई आर्थिक दायरामा मात्र सीमित नराखेर योगदानको मूल्याङ्कन हुनुपर्नेमा आफूले जोड दिएको उनको दाबी थियो।

भूपू गोर्खा सैनिकका गुनासा सम्बोधनमा अधिकतम लचिलो हुन आग्रह गरेको र प्रत्युत्तरमा राज्यमन्त्री ल्याङकेष्टरले सकारात्मक जवाफ दिएको जानकारी दिए। राससका अनुसार उनीहरूका समस्या समाधान गर्नुपर्ने आफ्नो सुझावलाई पनि राज्यमन्त्रीले सकारात्मक रुपमा लिएको बताए ।

मन्त्री ज्ञवालीले जनाएअनुसार भूपू गोर्खा सैनिकका गुनासा र समस्या सम्बोधनका सिलसिलामा बेलायत सरकारले निकट भविष्यमा घोषणा गर्ने तयारी गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्