धादिङ, २९ माघ २०७५ । नेपाल विद्यार्थी संघ धादिङको विवाद सतहमा आएको छ । केन्द्रले जिल्ला अध्यक्षको लागि ३ जनालाई जिम्मेवारी दिए पछि विवाद झनै चुलिएको हो । अध्यक्षको जिम्मेवारी दिईएका तिनै जनाले आफुनै आधिकारीक अध्यक्ष भएको बताएका छन् । १४ औं जिल्ला अधिवेशनमा अध्यक्षको लागि दावेदारी गर्नेहरु भिमप्रसाद भट्ट, रुवि भट्टराई, डेविड घले, अमृता अर्याल, सुवास विसुराल, लक्ष्मि सिल्वाल र श्रीराम खतिवडा मध्ये भिमप्रसाद भट्ट, सुवास विसुराल र श्रीराम खतिवडालाई अध्यक्षको जिम्मेवारी दिएको पत्र अहिले सामाजिक संजालमा भाईरल बनेको छ ।

सुवास विसुरालले हिजो मात्रै अध्यक्ष पदबाट राजिनामा दिएका नेविसंघ केन्द्रिय अध्यक्षले नैनसिंह महरले माघ १७ गते हस्ताक्षर गरेको पत्र पाएका छन् भने भिमप्रसाद भट्टले धादिङका लागि केन्द्रिय प्रतिनिधि तथा नेविसंघ केन्द्रिय सदस्य लक्ष्मण पन्थीले माघ ९ गते हस्ताक्षर गरेको पत्र प्राप्त गरेका छन् । त्यस्तै श्रीराम खतिवडाले नेविसंघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ३ का संयोजक रामप्रसाद अधिकारीले हस्ताक्षर माघ ९ गते हस्ताक्षर गरेको पत्र प्राप्त गरेका छन् ।

यस अघि माघ ७ गते उद्घाटन भई ८ गते सम्पन्न हुने भनिएको अधिवेशनको बन्दसत्र १ दिन लम्बिएर ९ गतेसम्म पुगेको थियो । कांग्रेस जिल्ला नेताहरुले आफु अनुकुल व्यक्तिलाई नेविसंघ जिल्ला अध्यक्ष बनाउने हरप्रयास समेत गरेका थिए । अन्तत जिल्ला नेताहरु बिच सहमति हुन नसक्दा निर्वाचनको वातावरण नभएको भन्दै चुनावी प्रक्रियानै रोकिएको थियो । अधिवेशन स्थगन भईसके पछि अधिवेशनमा सहभागिता जनाउन आएका जिल्ला प्रतिनिधिहरुले विद्यार्थीलाई दुख दिएको र आफ्नो अनुकुलमा नतिजा नआउने संकेत नदेखे पछि जिल्ला नेताहरुले अधिबेशन रोकेको प्रतिकृया दिएका थिए ।

सो अधिवेशनबाट कोषाध्यक्षमा १ जनाको मात्रै उमेद्धारी परेपछि सरिता तामाङ निर्विरोध जिल्ला कोषाध्यक्ष बनेकी थिईन् भने अन्य पदाधिकारीहरुको बिषयमा टुङ्गो लाग्न सकेको थिएन । ९ गते पछि कांग्रेसले गरेका विभिन्न कार्यक्रमा निवर्तमान अध्यक्ष ईश्वर अधिकारीनै नेविसंघ धादिङको अध्यक्षको हैसियतमै प्रस्तुत भईरहेका छन् ।

को हुन् आधिकारीक अध्यक्ष
नेविसंघको राजनितिमा लामो समय देखि कृयाशिल रहेका र नीलकण्ठ बहुमुखी क्याम्पसमा पुर्व स्ववियु उपसभापति समेत रहेका भिम भट्टले आफुलाई केन्द्रिय प्रतिनिधिले आधिकारीक रुपमा हस्ताक्षर गरेको पत्र दिएकाले आफुनै आधिकारीक अध्यक्ष भएको बताएका छन् । नेवीसंघ धादिङको अधिबेशन सम्पन्न गर्न सम्पुर्ण जिम्मेवारी दिएर केन्द्रले पठाएको व्यक्तिले दिएको पत्र नै आधिकारीक हुने भन्दै कांग्रेसका एक जिल्ला सदस्यले भट्टनै आधिकारीक अध्यक्ष भएको बताए ।

यता केन्द्रिय अध्यक्षले हस्ताक्षर गरेर आफुलाई जिम्मेवारी पत्र दिएकाले आफुनै आधिकारीक अध्यक्ष भएको सुवास विसुरालले बताएका छन् । एक जिल्ला नेताका अनुसार केन्द्रले दिएको अख्तियारी पुरा गर्न नसकेका केन्द्रिय प्रतिनिधिले अध्यक्षको लागि जिम्मेवारी पत्र दिनुको कुनै औचित्य नभएको बताएका छन् । अधिबेशन गराउने जिम्मेवारी पाएका सबैले पत्र बाढ्दै हिड्नु लोकतान्त्रीक पद्धती अनुसार नभएको उनको जिकिर छ ।

प्रदेश नं ३ को ८ जिल्ला हेर्ने र जिल्लाको निर्णय गर्ने आधिकारीक व्यक्ति रामप्रसाद अधिकारी भएकाले उनले दिएको पत्रनै आधिकारीक हुने भन्दै आफुनै आधिकारीक अध्यक्ष रहेको श्रीराम खतिवडाको दावी छ ।

तिनै पत्र सामाजिक संजाल मार्फत सार्वजानिक भए पछि धादिङ कांग्रेस भित्र नयाँ बहसको संचार भएको छ । कांग्रेस धादिङको यस बिषयमा आधिकारीक धारणा सार्वजानिक नभए पनि एक नेताका अनुसार यस विषयमा छलफल गर्न गर्न ९ जना जिल्ला नेताहरुको उच्च स्तिरिय समिति पहिल्यै बनेको र सो समितिका सदस्यहरु बिच छलफल भई सर्वसम्वत रुपमा अध्यक्ष चयन गरिने र सो निर्णयनै आधिकारीक हुने उनले बताएका छन् । अहिले सामाजिक संजालमा फैलिएको कुराको पछाडि नलाग्न समेत उनले सबैलाई आग्रह गर्दै कुनै पनि निर्णय कांग्रेस धादिङको आधिकारीक निर्णय नभएको पनि लेकबेशी खबरलाई जानकारी दिए । यस बिषयमा आज बेलुकासम्म एक विज्ञप्ती निकालेर सबैलाई प्रष्ट पार्ने तयारी भई रहेको नेपाली कांग्रेस धादिङले जनाएको छ । जिल्ला पार्टी सभापति रमेश धमला जिल्ला बाहिर भएकाले विज्ञप्ती निकाल्न ढिलाई भएको बुझिएको छ ।

यस कार्यकर्ताहरुले भने मिश्रीत प्रतिक्रिया दिएका छन् । केहीले कांग्रेसले लोकतान्त्रीक पाटोलाई भुल्दै गएको बताएका छन् भने केहीले पार्टी समाप्त पार्ने खेलमा जिल्ला नेताहरुनै लागेको आरोप लगाएका छन् । आफुलाई लोकतन्त्रीक दल भन्न रुचाउने कांग्रेस भित्र यस्ता हर्कत हुनु उसको लागि स्वभानिय नभएको प्रतिक्रिया समेत आईरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्