काठमाडौँ, २० असोज २०७५ । कांग्रेसमा जब ‘वैचारिक प्रधानता’ कमजोर हुँदै गयो, तब क्रमिक रूपमा वैचारिक विखण्डन बढ्दै गएको छ । राजनीतिक ‘मियो’ मानिने कांग्रेसमा पछिल्लो समय मौलाएको सत्ताको खेल र नेतृत्वद्वारा व्यक्तिगत स्वार्थमा सिंगै पार्टीलाई प्रयोग गरिँदा त्याग, बलिदान र क्षमता भएकाभन्दा सत्ताका लागि जे पनि जायज ठान्नेहरूको बोलवाला छ ।

नीति एकातिर, काम अर्कैतिर हुने क्रम गिरिजाप्रसाद कोइरालाकै पालामा सुरु भयो भने शेरबहादुर देउवाको समयसम्म आइपुग्दा कांग्रेस नेतृत्वमा सोच्ने, निर्णय लिने र समयसापेक्ष नीति निर्माण गर्ने क्षमतामै ह्रास आयो । बिपी र किसुनजीको कालखण्डमा कांग्रेसकै वरिपरि राष्ट्रिय राजनीति घुम्ने गथ्र्यो, कांग्रेस सत्तामै नरहे पनि । त्यसयता कांग्रेस अरूले निर्माण गरेको राजनीतिवरिपरि घुम्न थाल्यो ।

गिरिजाप्रसाद रहुन्जेल केही हदसम्म राष्ट्रिय राजनीति कांग्रेसकै वरिपरि घुमे पनि नीतिमा कांग्रेसमा चरम अन्योल देखियो । जीवनका पछिल्ला समय कोइराला नै परिवारलाई पार्टीमा स्थापित गर्ने पक्षमा बढी चिन्तित देखिए । परिवार मोहका कारण कांग्रेसमा विचलन झन् टड्कारो देखियो, यसले देशैभरिका लोकतन्त्रवादीलाई निराश बनायो ।

कांग्रेस अहिले आफैँलाई सञ्चालन गर्ने विधान लेखनमा व्यस्त छ । औपचारिकता नै सही, सातै प्रदेशबाट राय लिने काम पनि भएको छ । तर, उसले समयानुकूल विधान निर्माण गर्छ वा गुट बलियो बनाउने र गुटाधीशलाई नेता बनाउने गोलचक्करमा फस्छ, कार्यकर्तामा तीव्र आशंका छ ।

नेताहरूलाई आफू कसरी नेतृत्वमा पुग्ने चिन्ता होला, कार्यकर्ता र देशैभरका शुभेच्छुक लोकतन्त्रवादीलाई चाहिँ कसले ब्युँताउन सक्ला कांग्रेस भन्ने चासो र चिन्ता छ । देउवाले पार्टी सभापति र प्रधानमन्त्रीको दोहोरो जिम्मेवारी थेग्न सकेनन्, चरम अलोकप्रिय नेतृत्व लिएर चुनावमा होमिएको कांग्रेसले एउटै प्रदेशमा पनि जित्न सकेन ।

अहिले आएर विधान जस्तो महत्वपूर्ण दस्ताबेजमा पनि गुट कसरी बलियो पार्ने भनेर निर्णय लिन थालियो भने कांग्रेसलाई प्रजापरिषद् वा कोमिन्ताङको यात्राबाट कसैले रोक्न सक्नेछैन । समयानुकूल आफूलाई परिचालित गर्ने हो भने कांग्रेस नेतृत्वले आफ्ना विचारलाई परिवर्तन गर्न सक्नुपर्छ ।

भारत, चीन वा पश्चिमा शक्तिले नेकपा फुटाइदिने र आफूलाई सत्तामा पुर्‍याइदिने सपनाबाट मुक्त नहुँदासम्म कांग्रेस जनताको पार्टी बन्न सम्भव छैन । नेकपाको शासनशैली कस्तो हुँदो रहेछ भन्ने बुझ्न नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वयंले संसदमा दिएको अभिव्यक्ति नै काफी छ । सोही पार्टीका नेताको जनतामा मुख देखाउनै नसकिने भयो भन्ने अभिव्यक्तिले सरकारको कुशासन बुझ्न सकिन्छ ।

कांग्रेसले त केवल गुट, फुट र आफ्नो मान्छे बिर्सिएर जनतास“ग जोडिएर बसे पुग्छ । नेकपाको महाधिवेशन नजिकिँदै गर्दा प्रतिपक्षीले निर्वाह गर्नुपर्ने धेरै काम ओलीविरोधी गुटले गरिदिने अवस्था छ। प्रस्तावित विधानमाथिको बहसमा २५ प्रतिशत सदस्यता ३० वर्षमुनिका युवालाई दिइनुपर्ने आवाज उठेको छ । वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला तहमा १५ प्रतिशत प्रतिनिधित्व ३० वर्षमुनिका युवाको गराइनुपर्ने आवाज जोडदार छ ।

पार्टीका विभाग, नेविसंघ, महिला संघ, तरुण दलजस्ता भ्रातृ संगठनका नेता ‘भिजिटिङ कार्ड’ बाँड्दै उठ्तीपुठ्तीमा लागेको भन्दै संगठन सञ्चालनको विधि पनि विधानमै उल्लेख गरिनुपर्ने आवाज यतिखेर उठेको छ । आचारसंहिताले तिनका आचरण नियमित हुनुपर्ने माग उठेको छ । पार्टीका कमिटी मात्र सीमित समावेशिताको सिद्धान्तलाई सदस्यता वितरणसम्मै विस्तार गरी पार्टीलाई जरैदेखि समावेशी बनाउने आवाज पनि छ । सँगै, आरक्षित कोटामा उही व्यक्तिलाई दोहोर्‍याई–तेहर्‍याई मौका दिइनु आरक्षण सिद्धान्तको बर्खिलाप हो भन्ने असन्तुष्टि छ । यी सबै विषय विधानमै उल्लेख गरिनुपर्ने माग छ ।

देशैभरका कांग्रेसजनले प्रस्तावित विधानमा सुझाब प्रस्तुत गरिरहेकै वेला केन्द्रीय सदस्य तथा विधान मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले ‘कांग्रेसका चार लाख ७० हजार क्रियाशील सदस्यमध्ये आधाले रक्तदान गर्दा पनि दुई लाख ३५ हजार पिन्ट रगत संकलन हुने’ भन्दै सामाजिक कार्यमा सक्रियताको लहर उठाउन खोजेका छन् ।

सामाजिक रूपमा जनतासँग जोडिनका लागि यो एउटा सुन्दर अभियान हुन सक्छ । तत्कालीन मुख्यसचिव लीलामणि पौडेल एउटा व्यक्तिले बागमती नदी सफाइ अभियान चलाउँदा उल्लेख्य जनसहभागिता भएको थियो । सामाजिक वा सिर्जनात्मक काममा अघि सर्दा सघाउनेको कमी हुनेछैन। कांग्रेसमा यतिवेला जोडतोडसाथ उठेको अर्को विषय उमेर हदको पनि हो । नेपाली राजनीतिमा क्रियाशील पात्रहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल, केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल आदिमा आफैँ सरकारको नेतृत्वमा पुग्दा मात्र देशको समृद्धिमा कायापलट ल्याउन सक्छु भन्ने मनोविज्ञान हाबी छ ।

उहाँहरू (पौडेलबाहेक) पटक–पटक प्रधानमन्त्री बन्दा देशले के पायो र भोलि के पाउला ? उहाँहरू सबै लगभग सात दशक कटिसकेका व्यक्ति हुनुहुन्छ । चाँदनीलाई कालो बादलले ढाकेझैँ मुलुक परिवर्तनमा योगदान दिन सक्ने जुझारु युवा पुस्तालाई मैदानबाहिरै राखेर मैदान ओगट्ने प्रवृत्ति देखियो आजका राजनीतिक नेतृत्वमा ।

केन्द्रीय सभापतिसमेत कार्यकर्ताबाट सीधै मत लिएर निर्वाचित हुने व्यवस्था विधानमा गरिनुपर्छ, जसरी गाउँ कार्यसमितिका सभापति मौजुदा क्रियाशील सदस्यको मतदानबाट निर्वाचित हुन्छ । आजका मितिमा चार लाख ७० हजार क्रियाशील सदस्य भएको पार्टीको सभापति निर्वाचित हुन दुई लाख ३५ हजारभन्दा बढी मत प्राप्त गर्दा त्यसको गौरव छुट्टै हुन्छ ।

पार्टी अध्यक्ष कार्यकर्ताको प्रत्यक्ष मतबाट चयन गरिँदा कार्यकर्ता तहसम्म नेतृत्वको सम्पर्कसँगै उत्तरदायित्व पनि बढाउँछ । त्यति मात्र नभई नेतृत्व तल्लो तहसम्म पुग्नुपर्छ भन्ने भावनासमेत जागृत गराउँछ । जनता र कांग्रेस पार्टीको दूरी बढेको वर्तमान सन्दर्भमा विधानमा यस्तो परिकल्पनालाई अनिवार्य सर्तका रूपमा प्रस्तुत गर्नुपर्छ ।

आजका मितिको अलोकप्रिय नेतृत्व यो ढाँचाको विधानमा जाला भनेर आशा लिने ठाउँ कमै भए पनि महासमिति बैठकसम्म यो विषयले प्रवेश पाउँदा बैठकमा विहंगम बहस हुनेमा विश्वास लिन सकिन्छ ।

विधानमा छलफल चलिरहँदा नेतृत्वको ‘इमेज’बारे देशैभर प्रश्न उठेका छन्, जुन स्वाभाविक हो । कांग्रेस ‘मास बेस्ड’ पार्टी भएका कारण पार्टीका नेताको छविले पनि ठूलो काम गर्छ । जनजीविकासँगै राष्ट्रिय महत्वका विषयमा छलफल गरिने संसद्मा प्रभावकारी भूमिका खेल्नुपर्ने नेता, उपनेता र सचेतक आदिका छविबारे धेरै लेखिरहनुपर्दैन, जनतालाई थाहा छ ।

नेतृत्वको कमसल छवि र प्रस्तुतीकरणको भागीदार पूरै पार्टी हुने गर्छ । यसको समेत लेखाजोखा जरुरी छ । नेतृत्वले स्वच्छ छवि निर्माण नगर्दा इतिहासको ब्याजले मात्र कुनै पनि राजनीतिक दलको भविष्य उज्ज्वल हुन सक्दैन । पार्टीमा छवि भएकाले नेतृत्व नै नपाउने र ध्वस्त छवि भएकाले नेतृत्व हत्याउने काम हुँदा पार्टी धुमिल बन्दै जान्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्