सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल बढाउन पार्टीको महासमिति बैठक पछि धकेल्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित भएको छ । गत वैशाखमै केन्द्रीय कार्यसमिति बैठकले यही भदौमा महासमिति बैठक गर्ने निर्णय लिएको थियो ।

अझै गठन भएन विधान मस्यौदा समिति
नेपाली कांग्रेसले विधान मस्यौदा समिति गठन गर्न नसक्दा भदौमा गर्ने भनिएको महासमिति बैठक अन्योलमा परेको छ। चार महिनाअघि सम्पन्न केन्द्रीय समिति बैठकले नयाँ संविधानअनुसार पार्टी संरचना परिर्वतन गर्न र प्रतिनिधि र प्रदेशसभा निर्वाचन पराजयपछि संगठन सुदृढीकरणको रणनीति बनाउन कांग्रेसले भदौंमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो।

सभापति शेरबहादुर देउवा र नेता रामचडेलबीच मस्यौदा समितिमा सहभागी गराउने संख्या र सदस्यको नामलाई लिएर विवाद हुँदा प्रत्यक वर्ष हुनुपर्ने महासमिति अन्योलमा परेको छ। केन्द्रीय समिति बैठक सकिएको चार महिना बित्दा विधान संशोधन मस्यौदा समितिसमेत गठन नभएपछि कांग्रेस महासमिति बैठक भदौमा नहुने निश्चित भएको छ । विधान संशोधन र संगठन सुदृढीकरणको कार्ययोजना तयार नहुँदा कांग्रेस महासमिति बैठक अब कहिले हुने भन्नेसमेत टुंगो छैन।

कांग्रेस नेता पौडेलले विधान संशोधन मस्यौदा समिति गठन नगरेर सभापति देउवाले महासमिति बैठक टार्न लागेको आरोप लगाए। तीन हप्ता अघि नै आपूmले समितिमा सहभागी गराउने नेताहरुको नाम सभापतिलाई उपलब्ध गराएको बताउँदै पौडेलले भने, ‘महासमिति टार्नसभापति खल्तीमा लिस्ट बोकेर हिंँडिरहनु भएको छ । बैठक सार्ने कुरा हामीलाई मान्य छैन।’

तत्काल विधान संशोधनका लागि समस्यौदा समिति गठन गरेर दिनरात काम गरेर भदौंमै महासमिति गर्नुपर्ने पौडेलको तर्क छ। आन्तरिक झमेलाबाट माथि उठेर जनतामाझ जानुपर्ने बताउँदै पौडेलले भने, ‘अब पार्टीलाई वर्वादी हुनबाट जोगाउनुपर्छ। जनतासँग जोडिनुपर्छ।’ सभापति देउवासहित संस्थापन पक्षका नेताहरु भदौं १०भित्र विधान संशोधनका लागि मस्यौदा समिति गठन गर्ने र दसैं तिहारपछि मात्र महासमिति बैठकको तयारीमा छन्। यसबीचमा सातवटै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण राख्ने तयारी छ।

विधान मस्यौदा समिति गठनपछि महासमिति र अन्य तयारीका लागि ४० दिन समय लाग्ने सुनाउँदै सभापति निकट एक नेताले भने, ‘महासमिति सकेर दशैं मान्नजाने कि तिहार मानेर महासमिति गर्ने केही दिनमा टुंगो लाग्छ।’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चाँडै नै विधान मस्यौदा समिति गठन हुने दाबी गरे । ‘मस्यौदा समितिको नामावली टुंगो लागि सकेको छ,’ शर्माले भने, ‘मस्यौदा समितिले लिने समय हेरेर महासमिति बैठक सर्ने÷नसर्ने टुंगो हुन्छ।’

बैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकले नयाँ संविधानको व्यवस्था अनुसार स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुर्नसंरचनाका लागि पार्टी विधान संशोधन गरी समय अनुकूल बनाउने निर्णय गरेको थियो। त्यस्तै, कांग्रेसले संगठन सुदृढीकरणका लागि संघीय संसद, प्रदेश र स्थानीय तहदेखि सबै तहका पार्टी नेता तथा कार्यकर्ता परिचालनका लागि एकिकृत राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, अहिलेसम्म उसले आन्तरिक छलफलसमेत सुरु गरेको छैन।

महासमिति बैठकबाट संगठन सुदृढीकरणका लागि थप रणनीति बनाउने निर्णय गरेको कांग्रेसले तात्कालिन नेपाल लोकतान्त्रिक फोरममा सक्रिय सबैलाई एक महिनाभित्र समायोजन गर्ने निर्णय लिगेको थियो। तर, आन्तरिक विवादमा रुमल्लीदा कांग्रेसले त्यसमासमेत तदारुकता देखाउन सकेको छैन।

प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको कांग्रेसको सदन र सडक दुबैमा उपस्थीति कमजोर बनेको भन्दै निकटहरुलेसमेत आलोचना गर्दै आएका छन्। पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन भएको भदौं १ गते दुई वर्ष पूरा भएको छ। तर, १२औं महाधिवेशनको अझै टुंगो लाग्न सकेको छैन।

भदौमा महासमिति बैठक हुन नसके देउवा असफल बन्ने भन्दै पौडेल पक्षले उनीमाथि नैतिक प्रश्न तेस्र्याएको छ । ‘महासमिति पर धकलेर नियमित महाधिवेशन नगर्ने षड्यन्त्र हुँदै छ,’ पौडेलले सोमबार भने, ‘आफ्नो स्वार्थका लागि पार्टीलाई जोखिममा पार्ने काम हुन दिनु हुन्न ।’ अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि भदौमा महासमिति बैठक हुन नसके देउवा असफल हुने बताए । आफ्नो अनुकूल परिस्थितिको पर्खाइमा महासमिति सार्दै जाँदा देउवाले झनै प्रतिकूल वातावरण भोग्नुपर्ने उनको चेतावनी छ ।

देउवाले महासमिति पछि धकेल्दा डेढ वर्षपछि गर्नुपर्ने नियमित १४ औं महाधिवेशनसमेत प्रभावित हुने पौडेलले बताए । विधानमा असाधारण परिस्थिति परे त्यसको कारण खोली एक वर्ष कार्यकाल बढाउन सक्ने व्यवस्था छ । देउवा विधानको त्यही व्यवस्थामा टेकेर कार्यकाल लम्ब्याउने योजनामा लागेको बुझाइ पौडेल पक्षको छ ।

उपसभापति विमलेन्द्र निधि भने त्यसलाई ठाडै अस्वीकार गर्छन् । ‘देउवाजीबाट महाधिवेशन लम्ब्याउने षड्यन्त्र भएको छैन, बरु पौडेलजीबाटै भएको छ,’ उनले भने, ‘सभापतिले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न नपाउँदा समस्या आएको हो ।’ निधिका अनुसार पार्टीको विधान संशोधनका लागि समिति गठनमा पौडेलकै कारण ढिलाइ भएको हो । समितिले फास्ट ट्रयाकमा काम सके भदौभित्रै महासमिति बैठक हुन सक्ने उनले बताए । ‘मैले कैयौंपटक पौडेलजीको घरमा गएर समिति गठनका लागि सदस्यको नाम दिन आग्रह गरें तर उहाँले महिनौंसम्म दिनुभएन,’ उनले भने, ‘विधानबमोजिम काम गर्न नदिएपछि षड्यन्त्र भयो भन्नु गलत हो ।’

महासमितिमा प्रस्तुत हुने प्रमुख एजेन्डा नै विधान संशोधन हो । महासमिति बैठकको दुई तिहाइले मात्रै विधानमा संशोधन र परिमार्जन गर्न सक्छ । प्रवक्ता विश्वप्रकाश शर्माले भदौमा सम्भव नभए पनि दसंैअघि महासमिति बैठक हुनेमा निश्चिन्त रहन आग्रह गरे ।

पौडेल पक्षले विधान मस्यौदा समितिमा आफ्नो पक्षबाट चार जनाको नाम तीन साताअघि नै दिए पनि देउवाले तत्काल समिति घोषणा गरेनन् । यसलाई महासमिति सार्ने ‘षड्यन्त्र’ का रूपमा पौडेल पक्षले बुझेको छ । ‘तीन साताअघि नै नाम पठाउँदा पनि बहानाबाजी गरिँदै छ,’ पौडेलले भने, ‘महासमिति बैठक सार्दै महाधिवेशन लम्ब्याउने कोसिस भइरहेको छ ।’ देउवाले मस्यौदा समिति गठनका लागि शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

सभापतिप्रति नरम बन्दै आएका महामन्त्री शशांक कोइरालाले पनि महासमिति बैठक सार्न खोजिएको भन्दै असन्तुष्टि जनाइसकेका छन् । यसअघि उनले देउवालाई साथ दिँदै आएका थिए । आइतबार विराटनगरको एक कार्यक्रममा कोइरालाले सभापतिको कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।

नेतृत्व लिने रणनीति
सभापति देउवा र संस्थापनइतर पक्षका नेताहरू १४ औं महाधिवेशनबाट नेतृत्व हात पार्ने रणनीतिमा लागेका छन् । पार्टी नेतृत्वमा रहेका तीन कोइराला ९शशांक, शेखर र सुजाता० ले आफूहरूमध्येबाटै आगामी महाधिवेशनमा एक जना सभापति उम्मेदवार बन्ने सार्वजनिक घोषणा गरिसकेका छन् । देउवा पार्टीलाई लथालिंग अवस्थामै राखेर महाधिवेशन गराउने पक्षमा छैनन् । त्यस्तो अवस्थामा आफूविरुद्धको जनमत अझ खस्कने डर उनमा छ ।

निर्वाचनमा पराजयको दोष देउवालाई दिए जनमत बढाउन संस्थापनइतर पक्ष गोलबन्द छ । देउवा अनुकूल परिस्थिति निर्माण गर्ने योजनासाथ अघि बढ्ने रणनीतिमा छन् । त्यसैले उनी विजय गच्छदारलगायत तत्कालीन फोरम लोकतान्त्रिकका नेता–कार्यकर्ताको व्यवस्थापन गर्नेतर्फ केन्द्रित भएका छन् । यो समूहलाई व्यवस्थापन गर्न सके पार्टीभित्र आफ्नो पकड सुदृढ हुने उनको बुझाइ छ ।

‘त्यसका लागि विधान अनुकूल बनाएर पार्टीका विभाग र अन्य समितिमा व्यवस्थापन गर्ने देउवाको चाहना छ,’ एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कार्यसमितिको सबै संरचनामा पकड कायम गरेपछि मात्रै महाधिवेशनमा जाने सोचमा देउवा छन् ।’

नेविसंघ तदर्थको बाटोमा
वरिष्ठ नेता पौडेलले विद्यार्थी संगठन नेविसंघको अधिवेशन मिति तत्काल तोक्न माग गरेका छन् । संघको वर्तमान कार्यसमितिको कार्यकाल भदौ ३ बाट सकिएको छ । उसले अधिवेशनको तिथि तोक्नसमेत सकेन । पार्टीले अधिवेशनका लागि भन्दै कार्यसमितिको म्याद तीन महिना थप गरेको छ । तीन महिनामा अधिवेशन हुन नसके कार्यसमिति स्वतस् विघटन हुने व्यवस्था विधानमा छ ।

नेविसंघलाई तदर्थ समितिमार्फत चलाउन खोजिएको भन्दै पौडेल पक्षले तत्काल अधिवेशन माग गरेको हो । ‘क्याम्पस, क्षेत्र र जिल्लाको अधिवेशन तत्काल तोक्न म आग्रह गर्छु,’ पौडेलले भने, ‘संघको अधिवेशन नगराई तदर्थवादमा चलाउने बाटो रोजिए दुर्भाग्य हुनेछ ।’ Janatatimes

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्