बुटवल, २०७६ साल भाद्र २ गते सोमबार । काँग्रेस महाधिवेशन प्रतिनिधिहरुको दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रदेश नम्बर ५ को भैरहवामा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सरकार गैरजिम्मेबार बन्दै गएको भन्दै पार्टी कुनै पनि बेला सडक आन्दोलनमा होमिने बताएका छन् ।

सरकारले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्न खोजेको भन्दै सभापति देउवाले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको समेत दाबी गरेका छन् ।

सभापति देउवाको भनाइ अनुसार सरकारका प्रजातन्त्रविरोधी कदमहरुको विरोधमा संसदमा संघर्ष गरिरहेको तर, कुनै पनि बेला सडक आन्दोलनमा आउनुपर्ने अवस्था रहेको छ । यसैक्रममा, सभापति देउवाले प्रजातन्त्र विरुद्ध लाग्ने कसैलाई पनि छोड्न नसकिने बताएका छन् ।

सभापति देउवाले प्रजातन्त्रको खिलाप र यसलाई सिध्याउन लाग्ने कुनै शक्तिलाई कांग्रेसले नछाड्ने जनाएका छन् । राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्ध कांग्रेसले संघर्ष गरेको गरेको स्मरण गर्दै देउवाले ओली सरकारले पनि प्रजातन्त्र विरुद्ध काम गरे नछाड्ने चेतावनी दिएका छन् ।

उनले पार्टीमा अन्तरघात गर्नेलाई कारवाही गरिने पनि बताएका छन् । यसैगरी, लोकतन्त्रको रक्षा गर्ने चुनौती खडा भएको ्पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । कांग्रेसको सिद्धान्त सधै विजयी भएको दावी गर्दै पौडेलले नेकपाका कारण जनताले दुःख पाएको जनाएका छन् । नेकपालाई जनताले दुईतिहाई बहुमत दिएर पठाएको तर सरकारले दुईतिहाईलाई दुरुपयोग गरेको पौडेलले बताएका छन् ।

यसैगरी, सरकारले लोकतन्त्र विरुद्ध काम गरिरहेको पार्टीका उपसभापति विमलेन्द्र निधिले आरोप लगाएका छन् । निधिले लोकतन्त्र रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएकोले आफ्ना पार्टीलाई सचेत रहन आग्रह गरेका छन् ।

अब कार्यकर्तामाझ मात्र नरहेर कांग्रेस जनतामाझ पनि जानुपर्ने पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले बताएका छन् ।सिटौलाले जनमतकै आधारमा कांग्रेसले सरकारलाई सही दिशातर्फ लैजान सक्ने जनाएका छन् ।

यसैक्रममा, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्र रक्षाको लागि पार्टीले शान्तिपूर्ण संघर्ष गर्नुपर्ने जनाएका छन् ।

पार्टी एकढिक्का भएर अगाडी बढ्नुपर्ने कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताएकी छन् । प्रशिक्षणमा पाँच नम्बर प्रदेशबाट केन्द्रीय सदस्य बनेका सबै नेताहरुका साथै करीब ५ सय महाधिवेशन प्रतिनिधिले सहभागि जनाएको छ ।

यसैक्रममा, काँग्रेस नीति केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण मंगलबारसम्म चल्ने जनाएको छ । सिद्धार्थनगर उद्योग बाणिज्य संघ र पार्टी कार्यालयमा ४ वटा समूह बनाएर पार्टीको नीति र रणनीतिका बिषयमा प्रशिक्षण दिइने जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्