इश्लामावाद, बीबीसी र अन्य एजेन्सी, १७ साउन २०७६ । पाकिस्तानको सियालकोटमा एक हिन्दु मन्दिर ७२ वर्षपछि पहिलो पटक खुल्दा त्यसको चर्चा भारतमा निकै भइरहेको छ । ७२ वर्ष सम्म थुनिएका भगवान खुला हुँदा चर्चा हुनु अस्वाभाविक पनि होइन ।

पाकिस्तानको पञ्चाव प्रान्तको सियालकोटमा रहेको जगन्नाथको यो मन्दिर भारत र पाकिस्तान टुक्रिएको समयदेखि नै बन्द रहँदै आएको थियो । यो मन्दिर सरदार तेज सिंहले बनाएको मानिन्छ  । जसको इतिहास झण्डै १ हजार वर्ष पुरानो रहेको छ । सो मन्दिर खुलाउनका लागि प्रधानमन्त्री इमरान खानले नै निर्णय गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

अल्पसंख्यकलाई सम्बोधन गर्नेगरी इमरानले गरेको यो कामलाई धेरैले सरहाना गरेका छन् । पाकिस्तानमा ७५ लाख हिन्दु रहेको अनुमान गरिएको छ । ती मध्ये धेरैजसो सिन्ध प्रान्तमा बस्ने गरेका छन् ।

शिवजीको मन्दिर भएपनि यसको खास नाम चाहिँ शवाला तेजा सिंह मन्दिर हो  । सो मन्दिर गएको सोमबार खुलेको भनिए तापनि पाकिस्तानीहरुले भने यो मन्दिर गएको मे महिनादेखि नै खुलेको दाबी गरेका छन् । यद्यपि गएको सोमबार यो मन्दिरमा पूजा आजा गरिएको थियो ।

दिवंगत लेखक तथा इतिहासकार राशिद नियाजले लेखेको पुस्तक ‘हिस्ट्री अफ सियालकोट’का अनुसार यो मन्दिर लगभग १ हजार वर्ष पुरानो हो । सन् १९९२मा भारतमा बाबरी मस्जिदलाई भत्काइएपछि पाकिस्तानमा रहेको यो हिन्दु मन्दिरमा पनि मुश्लिम समुदायले आक्रमण गरेका थिए ।  त्यही बेला यो मन्दिरमा आंशिक  क्षति भएको थियो । पाकिस्तानमा हिन्दु समुदाय अल्पसंख्यक समुदाय हो ।

शवाला तेजा सिंह मन्दिरको ७२ सालपछि खोलिनुलाई निकै महत्वपूर्ण मानिएको छ ।बीबीसीले पाकिस्तानको सियालकोटमा जियो न्यूजका संवाददाता ओमर एजाज र पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी तहरिक ए इन्साफका सांसद डा. रमेशकुमार वाकवानीसँग कुराकानी गरेर  यस मन्दिरलाई खोल्नुको कारण र यसका लागि भएका पहलहरुको बारेमा छलफल गरेका थिए ।

पाकिस्तानी पत्रकार ओमार इजाजका अनुसार भारतीय मिडियाले सोमबारदेखि खुलेको भनेपनि यो मन्दिर गएको मे महिनामा खुलेको हो । सियालकोटमा करिब १५० हिन्दु परिवार रहने गरेका छन् । उनीहरुले मन्दिर खोलिदिन सरकारलाई आवेदन हालेका कारण सरकारले मन्दिर खोलिदिएको हो ।

मन्दिर खोल्नको लागि जिल्ला प्रशासनका अधिकारीहरु नै सो स्थानमा गएका थिए । मन्दिर खुलेपछि यसको सरसफाइ समेत गरिएको छ । अहिले मन्दिरको पुनर्निर्माणको लागि फन्डको घोषणा गर्ने कुरा समेत चर्चा भइरहेको छ ।

मन्दिर खुल्दा हिन्दु धर्मावलम्बीहरु निकै खुसी भएका छन् । उनीहरु यो कारणले खुसी भएका हुन् कि मुश्लिम बहुल क्षेत्र भएरपनि उनीहरुको एक निवेदनको भरमा यो मन्दिर खुलेको छ ।

पाकिस्तानी सांसद रमेश वाकवानीका अनुसार पाकिस्तानमा कैयौं यस्ता मन्दिर र गुरुद्वार आजपनि बन्द छन् । भारत र पाकिस्तानको विभाजनपछि हिन्दु समुदायका मानिस पाकिस्तान छोडेर भारत तर्फ लागेका थिए ।त्यसले गर्दा मन्दिर र गुरुद्वाराको रेखदेख गर्ने मानिस नै कोही बचेका थिएनन् ।

यो अवस्थामा कुनै मन्दिर कमर्सियल कम्प्लेक्स बनेका थिए  । पाकिस्तानमा जब इबेक्यूई ट्रस्ट प्रपर्टी बोर्ड बन्यो,त्यतिबेला यहाँ ११३० मन्दिर र ५१७ गुरुद्वारा थिए आज ती ११३० मन्दिरमा केवल ३० मन्दिर खोलिएका छन् ।बाँकी ११०० मन्दिर अहिलेपनि बन्द छन् । ५१७ वटा गुरुद्वारामा १७ गुरुद्वारा मात्रै चलिरहेका छन् । बाँकी ५ सय अझैपनि बन्द रहेका छन् ।  निवेदन हालेपछि ७२ वर्षपछि मन्दिर खुल्नु राम्रो कुरा हो तर अझै धेरै काम गर्न बाँकी रहेको पाकिस्तानी सांसद बताउँछन् ।

ती पाकिस्तानी सांसदले पंडित जवाहरलाल नेहरु र लियाकत अली खानबीचको संझौता अनुसार इबैक्युई ट्रस्ट प्रपर्टी बोर्डको अध्यक्ष हिन्दु हुनु जरुरी छ । जस्तो कि भारतमा मस्जिद र इस्लामिक संस्थाका अध्यक्ष मुसलमान हुन्छन् । तर, अहिले सम्म पाकिस्तानमा कुनै हिन्दु इवैक्यूई ट्रस्टको अध्यक्ष बनेका छैनन् ।

उनले जब कोही हिन्दु ट्रस्टको अध्यक्ष बन्छन् त्यो बेला मात्रै सबै ११३० मन्दिर र ५१७ गुरुद्वारा खुल्न सक्ने बताए । यदि हिन्दु अध्यक्ष नबनेमा काम निकै ढिलो हुने जनाउँदै उनले प्रश्न गरे, “जस्तो कि वर्षको एउटा मन्दिर मात्रै खुल्यो भने ११०० मन्दिर खुल्न कति वर्ष लाग्ला ?”

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्