काठमाडौँ,१५ असार २०७६ । आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस । मानो रोपी मुरी फलाउने किसानलाई रोपाइँको चटारो छ । यो दिन नेपाली किसानमाझ दही चिउरा खाने दिनका रूपमा समेत परिचित छ ।

किसान मात्र नभई सहरमाझ बस्ने नेपालीसमेत आजका दिन दही चिउरा नखाई बस्दैनन् । यसैकारण व्यवसायीलाई असार १५ नआउँदै दही बनाउने चटारोले छुन्छ ।

शनिबार यस्तै चटारोमा हुनुहुन्थ्यो, रामदेवी सैँजू ।
भक्तपुर–१०, च्यामासिंहमा उहाँको ‘सैँजू जुजुधौ भण्डार’ छ । सबेरैदेखि यहाँ केही मानिस हस्याङफस्याङ गर्दै थिए । कोही किसानबाट सङ्कलन गरी ल्याइएका दूध ओसार्दै त कोही ठुल्ठूला कराईमा भकभक उम्लिरहेको दूध चलाउँदै थिए । कोही कराईमा दूध खन्याउँदै थिए भने कोही पाकेको दूध लामो धारा बनाएर माटाका कटौरा भर्दै ।

“आज त दिनभरि नै दही बनाउँदै फुर्सद हुन्न”, दही जमाउने माटाको भाँडामा दूध भर्दै सैँजूले भन्नुभयो, “असार १५ का लागि सधैँ यस्तै हो । ” उहाँको यो जुजुधौ भण्डारमा दैनिक चार सय लिटर दूधको दही बन्छ । शनिबार भने असार १५ लाई नै लक्षित गरी एक हजार आठ सय लिटर दूधको दही जमाइएको छ । नियमित रूपमा तीन जनालाई रोजगारी दिएको भए पनि शनिबार भने सात जनाले काम गरे ।
असार १५, दशैँ, तिहार, आमाबुवाको मुख हेर्ने दिन, बिहेको लगनको साइतजस्ता दिनमा जुजुधौको ‘अर्डर’ धेरै आउने उहाँले सुनाउनुभयो । डेरीमा दही पाइने भए पनि परम्परागत तरिकाले बनाइएको जुजुधौको स्वाद र गुणस्तर राम्रो हुने भएकाले मानिसहरू जुजुधौप्रतिको आकर्षणमा कमी नआएको सैँजूको भनाइ छ ।

रामदेवी विवाह गरेर सैँजू परिवारमा आउनुभन्दा धेरै अघिदेखि नै यो परिवारको जुजुधौ बनाउने व्यवसाय चल्दै आएको छ । अहिले ५२ वर्षकी उहाँले १३ वर्षको उमेरदेखि नै यो व्यवसाय सम्हाल्दै आउनुभएको छ । उहाँले पाँच लिटरको कतारोको जुजुधौलाई ७५० रुपियाँ, तीन लिटरलाई ५५० र एक लिटरको कतारोको जुजुधौलाई १९० रुपियाँमा बिक्री गर्ने गरिएको बताउनुभयो छ ।

भक्तपुरको च्यामासिंहमा नै अर्का सैँजू परिवारले पनि ‘सैँजू जुजुधौ भण्डार’ नामबाट नै दही बनाउने व्यवसाय गरिरहेको छ । यो न्हुच्छेराम सैँजूको परिवारको पुर्खौली व्यवसाय हो । दही चिउरा खाने दिनका लागि यो परिवारको दही बनाउने टहरामा पनि उस्तै चटारो देखियो ।

के हो जुजुधौ
परम्परागत रूपमा माटाका भाँडामा जमाएर बनाइएको दही हो, जुजुधौ । दूधलाई मज्जाले उमालेर माटाका भाँडामा विशेष तरिकाले भरिन्छ । सैँजू जुजुधौ भण्डारका प्रबन्धक रामदेवी सैँजूका अनुसार दूधको बाक्लोपन चाख्दै दूधलाई पकाउनुपर्छ ।
उहाँ भन्नुहुन्छ, “४० लिटर काँचो दूधलाई पकाएर ३० लिटरमा झारिसकेपछि बल्ल जुजुधौका लागि योग्य हुन्छ, नत्र राम्रो जुजुधौ बन्दैन । यसरी पकाइएको दूधलाई दही जमाउने माटाका भाँडामा थोरैथोरै गर्दै भरिन्छ ।

भाँडामा एकैपटक तातो दूध भरी खन्याउँदा तातोका कारण दही नजम्ने र अमिलो हुने न्हुच्छेराम सैँजूले बताउनुभयो । त्यसैले अलिअलि गर्दै केही छिनको अन्तरालमा भाँडामा दूध हालिन्छ । माटाको भाँडामा ठीक मात्रामा भरिएको दूधको तापक्रम ४० डिग्री सेल्सियससम्म झरिसकेपछि त्यसमा धौपुसा (दहीको बीउ) हालिन्छ ।

पहिल्यै बनाइसकेको दहीलाई पानीमा फिटेर धौपुसा बनाइन्छ । दही जमाउने कटौरालाई धानको भुसमाथि न्यानो हुने गरी राखिन्छ । यसरी राखेको पाँचदेखि छ घण्टामा जुजुधौ तयार हुन्छ । रामदेवी सैँजू भन्नुहुन्छ, “धेरैबेर पकाउने र भाँडामा जमाउनाले अरू तरिकाले बनाउने दहीभन्दा जुजुधौ बाक्लो र मीठो हुन्छ । ”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्