धनगढी, २५ चैत्र २०७७ । सुदूरपश्चिममा नयाँ खालको कोरोना देखिएसँगै जोखिम झन् बढेको छ । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर तीव्र बनेका बेला सुदूरपश्चिममा त्यहाँबाट फर्किनेहरूमा संक्रमण देखिन थालेको छ । रोजगारका लागि भारत गएकाहरू अहिले स्वदेश फर्किन थालेपछि जोखिम झन् बढेको हो ।

सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएको पुष्टि भएपछि पहिलो पटक एक संक्रमितको मृत्यु समेत भएको छ । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत भारतको गुजरातबाट फर्किएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मङ्गलवार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अस्पताललाई उद्धृत गर्दै संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन्। उनकाअनुसार ती पुरुष २२ गते अस्पताल भर्ना भएका थिए ।

सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार(भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुरका २२ वर्षीय, डडेलधुराका ३१ वर्षीय र डोटीका ३० वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना देखिएको थियो । उनीहरू तीनै जना अहिले होम आइसोलेसनमा रहेका सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्