काठमाडौं । सञ्चारकर्मीको कुम्भ मेलाका रूपमा लिइएको नेपाल पत्रकार महासंघको आगामी नयाँ नेतृत्व चयन गर्न बुधबार (आज) बिहानैदेखि काठमाडौं उपत्यकालगायत मुलुकभर मतदान हुँदै छ ।

निर्वाचनलाई आफ्नो पक्षमा पार्न केन्द्रीय अध्यक्षलगायत विभिन्न पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका पत्रकार आआफ्नो पक्षमा धेरै मत ल्याउने प्रयासमा जुटिरहेका छन् । महासंघको २६औं महाधिवेशन तथा निर्वाचनको अघिल्लो दिन उनीहरू के कसरी हुन्छ आफ्नो विजय सुनिश्चित गर्ने अन्तिम कसरतमा दौडधुप गरिरहेका देखिन्थे ।

महासंघको आगामी नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी, अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले पनि आफ्नो चुनावी प्रतिस्पर्धालाई तीव्रता दिइरहेका छन् । आगामी नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा र एजेन्डा बनाएका छन् ।

अध्यक्षमा शर्मा, पोख्रेल र बुढाथोकीबीच प्रतिस्पर्धा

यस निर्वाचनमा भिडेका तीन जना केन्द्रीय अध्यक्षका उम्मेदवारमध्ये महासंघको इतिहासमै पहिलोपटक महिला पत्रकारको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी निर्मला शर्मा व्यावसायिक र समावेशी प्यानलकी हुन् । सो प्यानललाई प्रेस चौतारी नेपाललगायतका पत्रकार सम्बद्ध अन्य केही संघसंस्थाको समेत समर्थन रहेको छ ।

प्रेस युनियन, प्रेस सेन्टरलगायतका संगठनको साझा उम्मेदवारका रूपमा विपुल पोखरेल समूह र स्वतन्त्र रूपमा अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकीबीच प्रतिस्पर्धा हुँदै छ ।

यसैगरी, महासंघ केन्द्रको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिस्पर्धामा छन् भने समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह प्रतिस्पर्धा गर्दै छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिस्पर्धा गर्दै छन् । महासंघको केन्द्रीय महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतमबीच प्रतिस्पर्धा हुँदै छ ।

यसैगरी, प्रदेश तथा जिल्ला समितिहरूको नयाँ नेतृत्वका लागि पनि बुधबार नै मतदान हुँदै छ । मंगलबार साँझसम्म महासंघको प्रदेश तथा जिल्ला, एसोसियट र प्रतिष्ठान शाखाका केही स्थानहरूमा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ भने प्रदेश र जिल्लाका विभिन्न पदहरूमा पनि केही पत्रकार सर्वसम्मत विजयी भएका छन् ।

पत्रकारहरूको छाता संगठन महासंघको २६औं महाधिवेशन गत फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । सोही महाधिवेशनले तय गरेको निर्वाचन मितिअनुसार बुधबार मुलुकभर महासंघको आगामी नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको महासंघले जनाएको छ । ‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यावसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सम्पन्न भएको थियो ।

केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म केन्द्रीय अध्यक्षदेखि सदस्यसम्मका लागि निर्वाचन हुँदै छ । जसका लागि महासंघ केन्द्रीय निर्वाचन सम्पन्न गर्न वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

महासंघको कुल ४९ पदाधिकारीका लागि १४५ जनाको उम्मेदवारी परेको छ । यस वर्षको निर्वाचनमा कुल १३ हजार १ सय २२ मतदाता छन् । जिल्ला र प्रतिष्ठान तहको निर्वाचनका लागि गत २२ चैतमा मनोनयन दर्ता भएको थियो ।
यस नयाँ व्यवस्थाअनुसार प्रदेश संरचनामा महासंघमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ । सात वटा प्रदेशमा बेग्लाबेग्लै मतदान हुनेछ । यसपटक ७ प्रदेशबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’ संरचना बनाइएको छ ।

उपत्यकाका तीन जिल्लाबाहेक बाग्मती प्रदेशका अन्य जिल्ला समेटेर बाग्मती प्रदेश बनाइएको छ । एसोसिएट पनि प्रदेशस्तरकै मान्यता दिइएको छ । बुधबार जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकैपटक निर्वाचन हुँदै छ । जसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रेस युनियनको ६ वर्षे कारबाही
नेपाल पत्रकार महासंघमा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका ११ जना पत्रकारलाई प्रेस युनियनले कारबाही गरेको छ । नेपाली कांग्रेस सम्बद्ध पत्रकारको संस्था प्रेस युनियनका सदस्यहरूले संगठनको अनुशासन उल्लंघन गरेर अझै उम्मेदवारी फिर्ता नलिएपछि उनीहरू युनियनको कारबाहीमा परेका हुन् ।

युनियनका विभिन्न पदमा रहेका क्रियाशील पत्रकारले उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई नमानेको भन्दै युनियनले कम्तीमा ६ वर्षसम्मका लागि साधारण सदस्यतासमेतबाट निष्कासन गरिएको युनियन अनुशासन आयोगका अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्वसभापतिको आह्वान
नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं अध्यक्षहरूले पत्रकारको अधिकार र सुरक्षाका विषयमा कतै पनि सम्झौता नगर्ने नेतृत्वलाई मतदान गर्न आमपत्रकारलाई आग्रह गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वअध्यक्षहरूले भनेका छन्, ‘हामी स्वतन्त्र एवं बहुलवादी प्रेस र पत्रकारहरूको सुरक्षा र अधिकारको विषयमा कतै पनि सम्झौता नगर्ने नागरिक र लोकतन्त्रका पहरेदार हुन सक्ने सक्षम नेतृत्वलाई आफ्नो विवेकको मतदान गर्न तमाम पत्रकार साथीहरूमा हार्दिक अपिल गर्दछौं ।’

पूर्वअध्यक्षहरूले नेपाल पत्रकार महासंघलाई सरकारको प्रतिछाया तथा राजनीतिक दलको स्वार्थबाट जोगाउन र समाजको निरन्तर लोकतान्त्रीकरणका लागि वैचारिक दिशाबोध गर्न सक्ने बनाइराख्न आवश्यक रहेको बताएका छन् । उनीहरूले प्रेस स्वतन्त्रता अहिले पनि चौतर्फी चुनौतीको घेरामा रहेको भन्दै यसको रक्षाका लागि महासंघका सबै तहमा जुझारु र निष्ठावान नेतृत्व आवश्यक हुने बताएका छन् । राजधानी

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्