- ADVERTISEMENT -

रोजगारी माग्ने धेरै थोरैलाई मात्र अवसर

December 13, 2018
1136
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मङ्सिर २७ गते । सरकारको रोजगार सूचना केन्द्रमा बेरोजगारी भएको प्रमाणसहित आवेदन दर्ता गरेकामध्ये १.३४ प्रतिशतले मात्रै रोजगारी प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सञ्चालन गरेको रोजगार सूचना केन्द्रमा देशभरबाट २०७१/७२ मा सञ्चालनमा ल्याइएको उक्त केन्द्रमा अहिलेसम्म एक लाख २२ हजार २३० जनाले आवेदन दर्ता गरेका मध्ये एक हजार ६४६ जनाले मात्रै रोजगारी प्राप्त गरेका हुन् ।

जब कि प्रत्येक वर्ष झण्डै पाँच लाख युवा रोजगारीको खोजीमा श्रम बजारमा आइपुग्छन् । केन्द्रमा आएको बेरोजगारीको आवेदन दर्ता र रोजगारी प्राप्त गर्नेको सङ्ख्या हेर्दा यसप्रतिको आकर्षण खासै भएको पाइँदैन ।

- ADVERTISEMENT -

Advertisement

विभागका महानिर्देशक रामप्रसाद भट्टराईले विभागको रोजगार सूचना केन्द्रको प्रचारप्रसारकै अभावमा यसको प्रयोग जति हुनुपथ्र्यो त्यति हुन नसकेको बताउनुभयो । पछिल्लो समय रोजगारीका लागि विभागको केन्द्रमा आवेदन दर्ता गराउने बेरोजगार युवाको सङ्ख्या बढ्नुको सट्टा घटेको स्वीकार गर्दै उहाँले भन्नुभयो, आवेदनमार्फत माग गरेअनुसार रोजगारीको सम्भावनाका लागि उद्योगधन्दा र निजी क्षेत्रसँग सहकार्य गरिरहेको छ ।

महानिर्देशक भट्टराईले रोजगार सूचना केन्द्रको प्रयोगलाई प्रभावकारी बनाउनका लागि सात प्रदेशसहित विभिन्न आठवटा स्थानीय तहमा बजेट नै पठाइसकेको जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको पहिलो चार महिना अवधि (कात्तिक मसान्तसम्म) मा एक हजार ६२६ जनाले रोजगारीका लागि उक्त केन्द्रमा आवेदन दर्ता गराएकोमा ७८ जनाले मात्रै रोजगारी उपलब्ध गराउन सफल भएको विभागले जनाएको छ ।
रोजगारीका लागि आवेदन परेअनुसार आन्तरिक श्रम बजारमा युवालाई अवसर सरकारले निर्माण गर्न नसकेको यो तथ्याङ्कले पुष्टि गरेको छ ।

सरकारले सञ्चालनमा ल्याएको आर्थिक वर्ष २०७१÷०७२ मा ८१ हजार ७२४ जनाले बेरोगारी भएको आवेदन दर्ता गराएका थिए भने आर्थिक वर्ष २०७२÷७३ मा नौ हजार पाँच जनाले रोजगारीका लागि आवेदन दिएका थिए ।

विभागका अनुसार ती दुई आर्थिक वर्षमा एक जनालाई पनि रोजगारी उपलब्ध गराउन सकिएन ।

आर्थिक वर्ष २०७३÷०७४ मा १७ हजार ३१८ जनाले रोजगारीका लागि केन्द्रमा आवेदन दिँदा ७४० जनाले रोजगारी पाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४÷७५ रोजगारीका लागि १४ हजार ९२७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ७३८ जनालाई मात्र विभागले रोजगारी दिलाउन सफल भयो । यस्तै, आर्थिक वर्ष शुरु भएदेखि कात्तिक मसान्तसम्ममा एक हजार ६२६ जना युवाले रोजगारीका लागि आवेदन दिएका छन् । त्यसमा ७८ जनालाई मात्र सरकारले रोजगारी दिन सकेको छ ।

आन्तरिक श्रम बजारमा नै रोजगारीका अवसरका विषयमा सरकारले अध्ययन गरिरहेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले सरकारलाई आन्तरिक श्रम बजार व्यवस्थापन गर्न केही समय लाग्ने बताउनुभयो । पछिल्लो समयमा सरकारले आन्तरिक श्रम बजारभित्र रोजगारीका अवसर र सम्भावनाको विषयमा केन्द्रित भएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

रोजगार सूचना केन्द्रमा आएका आवेदनमध्ये अधिकांश स्नातक उत्तीर्ण भएका युवाका आवेदन दर्ता भएको जानकारी दिइएको छ । विभागका अनुसार केन्द्रमा २१ देखि ३९ वर्ष उमेर समूहका युवाले कम्प्युटरसम्बन्धी, शिक्षक, बैङ्कको लेखापाल, प्राइभेट कम्पनीको अफिसर, जनसम्पर्क अधिकृत र आइएनजोलगायतका शीर्षकमा रोजगारीका लागि आवेदन पर्ने गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -