- ADVERTISEMENT -

नेपालमा कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको बारेमा जान्नुपर्ने मुख्य कुरा

January 27, 2021
577
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, १४ माघ २०७७ । नेपालमा कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् ।

अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । बुधबार १२ हजार व्यक्तिले खोप लगाउने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

खोपको बारेमा जान्नुपर्ने मुख्य कुराहरु –

१. कोरोना भाइरस रोग विरुद्धको खोप कस्ले लिने ?
यो खोपले कोरोना भाइरस रोग लाग्नबाट बचाउँछ । साथै, यो खोप लगाएको व्यक्तिंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । खोप लगाइसकेपछि यो रोग लागि हालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिश गरिएको छ ।

२. सर्वसाधारण नेपाली नागरिकले कहिलेसम्म यो खोप लगाउन पाउंछन् ?
विश्व स्वास्थ्य संगठनको सिफारिशको आधारमा नेपालमा कोरोना भाइरस रोगको जोखिम, संक्रमितहरूमा भएको मृत्यु तथा सिकिस्त हुने दरको आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकिकरण गरिएको छ ।

खोप दिने भनेर पहिलो प्राथमिकतामा स्थानीय निकायहरुबाट खटाएका सफाइकर्मी, स्वास्थ्यकर्मीलाई राखिएको छ । उनीहरूसँगै एम्बुलेन्स चालक तथा सहचालकहरू, शव व्यवस्थापन गर्ने व्यक्तिहरू, वृद्धाश्रमका कर्मचारीहरू, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरू र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरूलाई पनि यसैगरि पहिलो प्राथमिकतामा राखिएको छ ।

दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका नागरिकहरूलाई राखिएको छ । साथै, दीर्घरोग भएका ४० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई पनि दोस्रो प्राथमिकतामा राखी यो खोप लगाइने छ । प्रवासी कामदारहरूलाई पनि यसै चरणमा खोप लगाइने छ ।
तेस्रो प्राथमिकतामा १८ वर्ष उमेर समूहभन्दा माथिका सबैलाई खोप सेवा प्रदान गरिने छ । तर, अहिलेसम्म प्रयाप्त खोप नआएकोले अहिले नै यो समुहका मानिसहरुले खोप पाउने संभावना छैन । १८ वर्षभन्दा कम उमेरका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भैरहेकोले उक्त उमेर समूहलाई हाल यो खोप दिइने छैन ।

३. कोरोना सन्चो भएकाले पनि यो खोप लगाउनुपर्छ ?
कोरोना भाइरसको संक्रमण भएर सन्चो भएकालाई पनि फेरी संक्रमण हुन सक्ने भएकोले सबैले खोप लगाउनुपर्छ । त्यसवाहेक मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ ।

४. के यो खोप लगाएकाहरुलाई कोरोना संक्रमणको कहिल्यै डर हुदैंन ?
खोप लगाएपछि पनि कोरोना संक्रमणको डर हुन सक्छ । त्यसैले पूर्ववतरुपमा सावधानी भने अपनाउनु पर्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएपनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ ।

५. यो खोप कसले लगाउनु हुँदैन ?
यो खोप गर्भवती, सुत्केरी तथा स्तनपान गराइरहेका महिलाहरू लिनुहुँदैन । १८ वर्ष मुनिका बालबालिकाले पनि यो खोप लिनु हुंदैन । साथै, यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनुहुँदैन ।

६. यो खोप कहाँ लगाउन पाइन्छ ?
यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निःशुल्क दिइन्छ । स्थानीय स्वास्थ्य संस्थामार्फत कोरोना भाइरस रोग विरुद्धको खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ ।

७. यो खोप कतिको सुरक्षित छ ?
यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरेका हुन् । विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएकोले यो खोपलाई निकै हदसम्म सुरक्षित मानिएको छ ।

८. यो खोपको कति मात्र लगाउनुपर्छ ?
कम्तिमा ४ हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ ।

९. यो खोप लगाएपछि कुनै नकारात्मक असरहरू देखिन्छ ?
कोभिड १९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।

१०. यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?
खोपको कारणले वृद्धि भएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझैपनि यकिन भएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -