- ADVERTISEMENT -

‘जनताको अधिकारको लागि लड्ने नेता’ गणेशमान सिंह

September 20, 2019
887
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३ असोज २०७६ । स्व गणेशमान सिंहको २२ औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘गणेशमान सिंहको अभिप्रेरणा अधिनायकवाद, कुशासन र भ्रष्टाचारविरुद्धको अभियान’ विषयक अन्तक्र्रियामा वक्ताले राजनीतिमा देशको समृद्धि र जनताको अधिकारको लागि लड्ने नेता सिंह भएको बताएका हुन् ।

वि सं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंह जनताको हक र अधिकारलाई केन्द्रबिन्दुमा राख्ने नेता भएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सिंह व्यक्तिगत पदका लागिभन्दा पनि देशको विकासका लागि दृढसङ्कल्प भएर लाग्ने नेता भएको बताउनुभयो । “गणेशमानजीलाई नपुग्ने कुरा केही थिएन, सुःख सुविधाका साथ बस्न सक्नुहुन्थ्यो तर नेपाली जनताको अधिकारका लागि कैयौँ पटक जेल बस्नुभयो”, उहाँ भन्नुहुन्छ ।

पूर्वमन्त्री होमनाथ दाहाल नेपाली राजनीतिमा स्व सिंह त्यागी नेता भएको बताउनुहुन्छ । “आन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिँदासमेत लिन नमान्ने सिंहको जीवनबाट नेपाली राजनीतिक दलका नेताले पाठ सिक्नुपर्छ”, उहाँ भन्नुहुन्छ । प्राध्यापक कृष्ण खनाल विषम परिस्थितिमा देशलाई निकास दिन स्व सिंहले विसं २०४६ को जनआन्दोलनको नेतृत्व गरेको बताउनुहुन्छ । “कम्युनिष्ट सहकार्य ठीक हो या हैन भन्ने बहस चलेको बेला गणेशमानजीले कम्युनिष्टलाई एक ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्नुभएको थियो”, उहाँ भन्नुहुन्छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेल राजनीतिमा समर्पण गर्ने व्यक्ति स्व गणेशमानजी भएको बताउनुहुन्छ । “गणेशमानजी सुशासन र भ्रष्टचार विरोधी हुनुहुन्थ्यो”, उहाँ भन्नुहुन्छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रजातान्त्रिक पद्धति मान्ने काङ्ग्रेसले पार्टीभित्र प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्न नसकेको बताउनुहुन्छ । “नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दललगायत भ्रातृ तथा शुभेच्छुक संस्थामा खराबी देखिएको छ”, उहाँ भन्नुहुन्छ ।

पूर्वसांसद रामहरि खतिवडा प्रजातान्त्रिक पद्धतिलाई कमजोर बनाउन वर्तमान सरकार लागेको आरोप लगाउनुहुन्छ । “काङ्ग्रेस पार्टीभित्रको आन्तरिक राजनीतिमा अल्मलिँदा सरकारका विरुद्ध बलियो रुपमा प्रस्तुत हुन सकेन”, उहाँ भन्नुहुन्छ । प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूरा गर्न वर्तमान सरकारले गणेशमान सिंहको योगदान बिर्सन नहुने बताउनुहुन्छ ।

काङ्ग्रेस नेत्री राधा घले पार्टीभित्र आन्तरिक एकता नहुँदा पार्टीले कस्ता मुद्दालाई प्राथमिकतामा राख्ने भन्नेबारे अलमल सिर्जना हुँदै गएको बताउनुहुन्छ । विसं १९७२ कात्तिक २४ गते जन्मेका सिंहको विसं २०५४ असोज २ गते काठमाडौँमा निधन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -