गोरखा, ४ भाद्र २०७६ । पालुङ्टारमा प्रदेश स्तरको औद्योगिक क्षेत्र बनाउने योजना अहिलेसम्म एक कदम पनि अघि बढ्न सकेको छैन । एकबर्ष अघिदेखि प्रारम्भिक अध्ययन थालेको औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले अहिलेसम्म केही काम नगरेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिनुभयो ।
‘पूर्वनिर्धारित समयतालिका अनुसार डिपिआर र इआइएको काम हुनुपथ्र्यो तर केही काम पनि भएको छैन’, कँडेलले भन्नुभयो, ‘महिनौं भयो, सम्पर्क पनि हुन छोड्यो । कतै अन्यत्रै सार्ने षड्यन्त्र पो भइरहेको छ कि भन्ने लागेको छ ।’ जग्गाको ब्यबस्थाका लागि नगर कार्यपालिकाले निर्णय गरेर लिमिटेडसमक्ष सिफारिस गरिसकेको उहाले बताउनु भयो ।
- ADVERTISEMENT -
नगरपालिकाले निर्णय गरेको जग्गाका स्थानीयबासीले चर्को बिरोध गरेकाले आफूहरु अघि बढ्न नसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रवन्धक नन्दकिशोर बस्नेतको भनाइ छ । भन्छन्, ‘स्थानीयबासी विशेषगरी त्यहाँका घरजग्गाका कारोबारीहरुले धेरै नै अबरोध गरेका हुन । औद्योगिक क्षेत्र चाहिँदैन भन्ने ब्यहोराको निवेदन बिभिन्न ठाउँमा दिदै हिडे । त्यसले गर्दा पनि हामीलाई कार्यक्रम अघि बढाउन कठिन भयो ।’
औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले पालुङ्टार वडा नं। ७ को ज्याग्दीखोलादेखि वडा नं। ८ को हजारीफाँटसम्मको ११०० बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना पर्ने प्रक्रिया अघि बढाएको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अगुवाइमा सो क्षेत्रका सांसद तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रदेश सांसद हरिशरण आचार्य, औद्योगिक क्षेत्र सम्बन्धी विज्ञहरुको टोलीले गतबर्षको माघ २५ गते प्रारम्भिक चरणको अध्ययन सम्पन्न गरेका थिए ।
- ADVERTISEMENT -
लिमिटेडका प्राविधिक तथा इञ्जिनियरहरुले बिभिन्न समयमा प्राविधिक अध्ययन समेत गरेका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । स्थानीयबासीसंग बिभिन्न चरणमा छलफल तथा अन्तरक्रिया समेत गरेको उहाले बताउनु भयो ।
नगर कार्यपालिकाले निर्णय गरेर व्यवस्थापन समितिलाई सो क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न अन ुरोध गरिरहेको नगरपालिकाका मेयर कँडेलले बताउनु भयो । तर अहिलेसम्म एक कदम पनि प्रक्रिया अघि नबढेको भन्दै मेयर कँडेलले चिन्ता ब्यक्त गरेका छन् ।
‘कतै हाम्रो, हाम्रा नेताहरुको पहुँच नपुगेर औद्योगिक क्षेत्र अरु जिल्लामा सार्ने षड्यन्त्र त भइरहेको छैन, भन्ने शंका लाग्न थालेको छ’, उहाले भन्नुभयो, ‘हामीले हाम्रो ठाउँबाट गर्ने सबै काम गरेका छौं तर लिमिटेडले काम अघि बढाएन ।’ लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक बस्नेतले भने तनहूँको चिन्तुटारको ५०० बिगाह क्षेत्रफल र कास्कीको पुम्दीटार, कोत्रेको १६०० रोपनी क्षेत्रफलमा पनि औद्योगिक क्षेत्रका लागि प्रारम्भिक अध्ययन गरेको जनाएका छन् ।
‘पालुङ्टारका स्थानीयबासीले अबरोध गर्ने नै हो भने, हामी हात बाँधेर बस्ने कुरा त भएन’, उहाले भन्नुभयो, ‘त्यसैले बैकल्पिक ठाउँको पनि हामीले अध्ययन गरिरहेका छौं । तर पहिलो प्राथमिकता पालुङ्टार नै हो ।’ औद्योगिक क्षेत्रका लागि अध्ययन भएको चारकिल्लाभित्र जग्गा दलालहरुले प्लटिङ गरिरहेको उनको आरोप छ ।
‘भू उपयोग ऐन आएको छ । त्यो पास भएपछि त्यहाँको जग्गा कि औद्योगिक क्षेत्रका लागि मात्र, कि आवस क्षेत्रका लागि मात्र निश्चित हुनुपर्छ’, ‘यदि नगरपालिकाले औद्योगिक क्षेत्रका लागि मात्र भनेर किटान गर्छ भने हामी प्रक्रिया अघि बढाउँछौं ।’ भदौ महिनामा फेरि एक पटक अध्ययन गरेर मन्त्रालयमा थन्किएको फाइल अघि बढाउने बताउनुभयो ।