काठमाडौं, ३ साउन २०७६ । शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्कविरुद्ध नेविसंघले चरणबद्ध आन्दोलन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेविसंघले शिक्षण संस्थाहरुले गरेको शुल्कवृद्धिको तथ्यांकसहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा नेविसंघले आन्दोलन अन्तरगत साउन ६ गते शिक्षामन्त्रीलाई शुल्क घटाउन माग गर्दै ज्ञापन पत्र बुझाउने, साउन ८ गते विज्ञहरुसँग अन्तरक्रिया गर्ने र साउन १० गते प्लाकार्डसहित सडक प्रदर्शन र त्यसपछि चर्को शुल्क असुल्ने कलेजहरुमा भण्डाफोर गर्ने जनाएको छ ।

नेविसंघ ११ औं महाधिवेशन सम्पन्न गर्ने पक्षधरहरुले भर्खरै आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बाढीपिडितहरुलाई राहत संकलनमा जुट्ने पनि घोषण गरेको छ । उनीहरुले तत्काल बाढीपिडितलाई राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेका छन् ।

विद्यार्थी नेताहरुले पत्रकार सम्मेलनमा शिक्षण संस्थाहरुमा भएको बेथिति अन्त्य नगरिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए । कक्षा ११ र १२ देखि विश्वविद्यालयसम्म तथा सीटीईभीटीदेखि एमबीबीएस र इञ्जिनियरिङ्गसम्मको मापदण्ड, शुल्क निर्धारण र सिट संख्या अविलम्ब तोक्नुपर्ने उनीहरुको माग छ ।

आन्दोलनको कार्यक्रमको संयोजन विद्यार्थी नेता मोतिलाल भण्डारी, लिलाबल्लव दाहाल काका, मनोहरि श्रेष्ठले गर्ने भएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्