काठमाडौं, ४ भाद्र २०७६ । स्व पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले तीन जना विरुद्ध जाहेरीका लागि दिएको निवेदन प्रहरीले फिर्ता गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले क्षेत्राधिकार नपर्ने भएकाले जाहेरी अस्वीकार गरिएको जानकारी दिए । उनले भने, ‘जाहेरीमा उल्लेख भएका विषय हेरेका थियौँ, हाम्रो क्षेत्राधिकार भित्र नपर्ने भएका कारण हामीले उहाँहरुलाई फिर्ता पठायौँ ।’

नेपाल प्रहरीका एक अधिकारीले चर्चा बटुल्नका लागि अनुसन्धानमा संलग्न अधिकृत र पत्रकार विरुद्ध जाहेरी दिएको बताए । उनले भने, ‘अनुसन्धानलाई प्रभावित पार्नेगरी आएको जाहेरी फिर्ता भएको छ । अनुसन्धानमा संलग्न व्यक्तिलाई छानविन गर्ने भन्ने विपक्षीको माग सम्बोधन गर्दा नेपालमा कुनै पनि घटनाको निरुपण हुँदैन । प्रहरी विधि र प्रकृयासंगत तरिकाले अगाडि बढ्छ ।’

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको आरोप निकिताले लगाएकी छन् । उनले निवेदन दिए पनि जाहेरी दर्ता नगरिएको प्रहरीले प्रष्ट पारेको छ ।

निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल र नेपाल आज डटकमका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरीका लागि निवेदन दिएकी थिइन् ।

शालिकराम गत साउन २० गते चितवनको नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्