गोर्खा, २८ साउन २०७६ । गोरखाको पालुङ्गटार नगरपालिकाका मेयर (इन्जिनियर) दिपक बाबु कँडेलले प्रबलिकरण गर्ने अवस्थामा रहेका घरलाई तालिम प्राप्त दक्ष प्राविधिक आवश्यक रहेको बताउनुभएको छ ।

पालुंङ्गटार नगरपालिकाको आयोजना तथा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सहजिकरणमा आयोजित प्रबलिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर कँडेलले प्राविधिकले सही ज्ञान हासिल गरेर प्रबलिकरण गर्नुपर्ने भुकम्प प्रभावित घरधनलिाई उचित सल्लाह सुझाव दिनुपर्ने बताउनुभयो ।

उहाँले पुनर्निर्माणमा खटिएका प्राविधिकलाई लगनशिल भएर आफ्नो कार्य निर्वाह गर्न आग्रह समेत गर्नुभयो । थप्दै उहाँले भन्नुभयो, पहुँचवाला भन्दा अति संकटासन्न भुकम्प प्रभावित परिवारलाई ध्यान दिनुपर्छ ।

मेयर कँडेलले परम्परागत शैलिका घरहरुमा उच्चस्तरको मौलिकता प्रयोग भएकाले भुकम्प प्रतिरोधी सोही अनुसारको नमुना घर निर्माण गर्न समेत जोड दिनुभयो ।

उक्त कार्यक्रममा जिल्ला कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)का आयोजना प्रमुख इन्जिनियर रामशरण आचार्यले प्रबलिकरण गर्दा भुकम्प पछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई प्रबलिकरण सम्बन्धी प्राविधिक रुपमा उचित परामर्श दिनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधिलाई समेत भुकम्प प्रभावित घरधनीलाई प्राविधिकको सल्लाहमा र कम खर्चमा प्रबलिकरण गर्न सकिने सन्देश दिनुभएको हो।

पालुंङ्गटार नगरपालिकामा ११ सय ४ घर प्रबलिकरण गर्ने सूचीमा रहेको अवस्थामा ÷गर्न इच्छुक रहेका घरधनीलाई उत्प्रेरणा मूलक कार्यक्रम गरेर विश्वस्त बनाउनुपर्ने बताउनुभयो । ऐतिहासिक धरोहर भएका भवनलाई जोगाउन तथा कम खर्चिलो भएकाले समेत प्रबलिकरण राम्रो विकल्प भएको प्रमुख आचार्यको भनाई थियो । आगामी दिनमा भुकम्प प्रभावित घरधनीलाई प्रबलिकरण गर्न तालिम प्राप्त प्राविधिक मार्फत आवश्यक परामर्श दिइन लगाइने समेत उल्लेख गर्नुभयो ।

जिल्ला कार्यान्वयन इकाई भवनकी प्रमुख इन्जिनियर सुनिता श्रेष्ठले दशैं अगावै पालुङ्गटार नगरपालिकाका सबै वडामा प्राविधिकलाई प्रबलिकरण सम्बन्धी तालिम दिइने लक्ष्य लिएको बताउनुभयो । उहाँले प्रबलिकरण सम्बन्धी कार्यशालाले जनप्रतिनिधिका लागि समेत फलदायी रहने भएकाले स्थानीय तहले प्राथमिकता दिएर अगाडी बढाउनुपर्ने बताउनुभयो । पालुङ्गटार नगरपालिकामा २७ प्राविधिक मध्ये प्रबलिकरणको ६ जनाले तालिम लिएको उहाँको भनाई थियो ।
आरसीसी र ढुंगामाटोका घरमा फरक किसिमले प्रबलिकरण गर्नुपर्ने भएकाले प्राविधिकमा विज्ञता हुन आवश्यक रहेको बताउनुभयो ।

सोही कार्यक्रममा उपस्थित पालुङ्गटार नगरपालिकाको सम्पुर्ण वडाका जनप्रतिनिधिले गाँउ÷टोलमा प्रबलिकरण सम्बन्धमा उचित सचेतना मूलक कार्यक्रम गरेर मात्र सो तर्फ भुकम्प प्रभावित घरधनीलाई प्रोत्साहन गर्न सकिने बताए । उनीहरुले वडामा रहेका इन्जिनियरलाई समेत प्रबलिकरण सम्बन्धी उचित तालिम दिन आवश्यक रहेको धारणा राखे ।

भुकम्पको लगत्तै पछि तथा राष्ट्रिय पुर्निर्माण प्राधिकरणका इन्जिनियर पुग्नु अगावै बनेका घरहरु मापदण्ड नपुगेका घरहरुमा पनि प्रवलिकरण गर्न आवश्यक रहेको बताउनुभयो । सो कार्यक्रममा भारतका स्ट्रक्चरल इन्जिनियर विज्ञ राजेन्द्र देशाई सुरक्षित प्रवलिकरण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्