काठमाडौँ, असोज २ गते । भारतीय ग्यास बुलेटहरूले ढुवानी भाडा वृद्धि नगरे नेपालमा ग्यास ढुवानी नगर्ने चेतावनी दिएका छन् । यो चेतावनीसँगै पछि ग्यास व्यवसायीहरू अन्योलमा परेका छन् । चार्डपर्वका बेला ग्यास ढुवानी नहुँदा बजारमा अभाव हुनसक्ने व्यवसायीहरूले बताएका छन् ।

एलपी ग्यास उद्योग सङ्घका अनुसार भारतीय ढुवानीकर्ताहरूले गत असारमै पत्रमार्फत डिजेलको भाउ बढेकाले ढुवानी भाडा वृद्धि गर्न आग्रह गरेका थिए । असोज ८ गतेसम्ममा ढुवानी भाडा वृद्धि नगरे भारतीय बुलेटहरूले नेपालमा ग्यास ढुवानी नगर्ने भएका छन् । समस्याका बारेमा सङ्घले बेलैमा सरकारलाई जानकारी गराए पनि सरोकारवाला निकायले चासो नदिएको व्यवसायीहरूको गुनासो छ ।
सङ्घका अध्यक्ष गोकुल भण्डारीले भन्नुभयो ‘विगतका सहमतिअनुसार सरकारले काम गरेन, हामीले पटक पटक ध्यानाकर्षण गराएका हौँ, भारतीय ढुवानीकर्ताहरूको चिठी हामीले असार २७ गते नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई बुझाएका थियौँ, २४ तारिकसम्मको अल्टिमेटम छ सरकारले छिटो पहल गर्नुपर्छ । ’

सङ्घले नेपाल आयल निगमले चासो नदिएको आरोप लगाएको छ । लामो समयदेखि ढुवानी भाडा वृद्धि नभएकाले समस्या आएको अध्यक्ष भण्डारीले बताउनुभयो । सङ्घका अनुसार डिजेलको मूल्य बर्सेनि बढेको छ तर पाँच वर्षदेखि ढुवानी भाडा समायोजन भएको छैन । बजारमा महँगी बढे पनि ग्यास ढुुवानीमा भाडा समायोजन भएको छैन ।

तर नेपाल आयल निगमले भने आफूलाई सो विषयमा जानकारी नभएको जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले भन्नुभयो ‘निगमलाई जानकारी छैन, हल्ला मात्रै हो, कुनै हालतमा ग्यासको अभाव हँुदैन, हुन दिन्नौं, अत्यावश्यक वस्तु हो त्यस्तो हुँदैन । ’ सोमबार निगमसँग छलफल गर्न गएका ग्यास व्यवसायीहरू निगमले समय नदिएपछि छलफल नगरी फर्किएका छन् । निगमले आफूहरू छलफल गरी व्यवसायीहरूलाई जानकारी दिन्छौँ भनेर फर्काएको छ ।

सङ्घका अनुसार भारतको बरौनीदेखि काठमाडौँसम्मको ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर ८७ रुपियाँ दिइन्छ । एउटा ग्यास बुलेटबाट एक हजार २५० वटा सिलिन्डिर भरिन्छ । भारतीय ग्यास बुलेटहरूले प्रतिसिलिन्डर कम्तीमा १८ रुपियाँ वृद्धिको माग गरेका छन् । भारतीय बुलेटहरूका मागअनुसार ढुवानी भाडा वृद्धि गर्दा नेपाली बजारमा ग्यासको मूल्य बढ्ने निश्चित छ । ढुवानी खर्च वृद्धि नगरेको हालको अवस्थामा पनि एलपी ग्यासमा निगमले प्रतिसिलिण्डर ३३२ रुपियाँ घाटा व्यहोर्दै आएको छ ।

नेपाली बुलेट भारतमै

तीन वर्षदेखि नेपाली ग्यास बुलेटहरू भारतमै रोकिएका छन् । भारतबाट खरिद गरेका ७७५ वटा ग्यास बुलेट भारतीय एक्सप्लोसिभ डिपार्टमेन्टले एक्स्प्लोसिभ इजाजत अनुमति पत्र नदिएपछि रोकिएका हुन् । अनुमति पत्र नपाउँदासम्म ग्यास ढुवानी गर्न पाइँदैन । सङ्घका अनुसार परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्रीहरूको भारत भ्रमणका बेला पनि नेपाली ग्यास बुलेट छुटाउन पहल भए तर अहिलेसम्म भारतले इजाजत पत्र नदिएर बुलेट रोकिराखेको छ ।

बुलेटहरू रोकिँदा छ अर्ब रुपियाँको लगानी फ्रिज भइरहेको भण्डारीले बताउनुभयो । संसदीय उपसमितिले पनि २०७४ असार ८ गते आपूर्ति मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयले प्रभावकारी कूटनीतिक पहल गरी भारतीय निकायबाट अनुमति उपलब्ध गराउन निर्देशन दिएको थियो । सबै कानुनी प्रक्रिया पूरा गरे पनि भारतीय एक्स्प्लोसिभ विभागले एक्स्प्लोसिभ प्रमाणपत्र उपलब्ध नगराउँदा बुलेट रोकिएका छन् ।

नेपालमा ग्यास ढुवानीका लागि २०७२ असोजदेखि नेपाली नम्बर प्लेटको ग्यास बुलेट किन्ने प्रक्रिया सुरु भएको थियो । नेपाली ग्यास बुलेट ल्याउन केपी ओली नेतृत्वको तत्कालीन सरकारले दुई तिहाई राजस्वमा छुट दिएपछि व्यवसायीहरूले बुलेटमा लगानी गरेका थिए । सङ्घका अनुसार नेपालमा मासिक ४० हजार मेट्रिक टन एलपी ग्यास खपत हुन्छ तर सो ग्यास ढुवानी गर्ने एउटा पनि बुलेट नेपालसँग छैन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्