गोरखा, २९ भाद्र २०७६ । गोरखामा नीजि आवास पुनःनिर्माणको कार्यलाई गति दिन स्थानिय तहहरु सक्रिय भएका छन् । जिल्ला स्थित ३ वटा स्थानियतहले पुनःनिर्माणको कामलाई तिव्र गतिमा अघि बढाउन भन्दै सयुक्त रुपमा समन्वय गरि पुनःनिर्माणका खटिएका प्राबिधिकहरुसंग छलफल गरेका हुन् । स्थानियतहरुले प्रवलीकरण तथा निजी आवाास निर्माणमा वैकल्पिक प्रविधिको प्रयोग गरेर भएपनि जिल्लाको पुनःनिर्माणलाई तिव्रता दिन प्राबिधिकहरुलाई आग्रह गरेका छन् ।

उनीहरुले पुनःनिर्माणको कामलाई चुस्तदुरुस्त बनाउनका लागि प्राबिधिकहरुले बढि ध्यानदिनुपर्नेमा जोड दिदै त्यसक्रममा आईपर्ने समस्याको समाधानका लागि स्थानिय सरकार तयार रहेको बताएका छन् । ‘निजी आवास पुनर्निर्माणले गति दिन अब प्रवलीकरणमा परेका लाभग्राहीहरुलाई काम शुरु गर्न प्राबिधिकहरुले पनि जागरुक गराउनुपर्छ, पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले भन्नुभयो, ‘त्यसका लागि प्राबिधिकहरुले संक्रिय भएर भूमिका खेल्नु जरुरी छ ।’

उहाँले नगरपालिकाले पहिलो किस्ता लिएर पनि घर निर्माण शुरु नगर्ने लाभग्राहीलाई पत्राचार गरि कारण सोध्ने तयारी गरेको समेत बताउनुभयो । त्यस्तै सिरानचोक गाँउपालिका अध्यक्ष राजु गुरुङले  घरनिर्माण सम्पन्न गरिसकेका लाभग्राहीलाई गाउँपालिकाले घर सम्पन्नताको प्रमाणपत्र बितरणको तयारी थालेको बताउनुभयो । उहाँले गाँउपालिकाको योजना अभिलेखिकरण गर्ने रहेकाले भूकम्प प्रभावित घरधनीलाई अभिलेखिकरण गर्न आवहन समेत गर्नुभयो ।

उहाँले निजी आवास पुनर्निर्माणको काम समयमा सम्पन्न गराउन प्राविधिकहरुले हरेक दिनको कार्ययोजना र मासिक समिक्षा पेश गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘यसो गरियो भनेमात्र कति काम कति दिनमा सक्ने भन्नेमा योजना बन्न सक्छ, उहाँले भन्नुभयो, हरेक महिनाको अन्त्यमा महिनाभरि गरेका कामको समिक्षा गर्दा ढिलाईको कारण र कमिकमजोरी तत्काल सुधार गरेर अघि बढ्न पनि सजिलो हुन्छ ।’ अध्यक्ष गुरुङले पुनःनिर्माणका क्रममा वडास्तरीय समस्या भएमा वडाबाट र नभए गाँउपालिकाका श्रोत इन्जिनियरसंगको सहकार्यमा समाधान गरेर अघि बढ्न समेत आग्रह गर्नुभयो ।

उहाँले प्रवलीकरणलाई प्रोत्साहन गर्न प्राधिकरणका इन्जिनियरलाई घरदैलो कार्यक्रम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष होम बहादुर गुरुङले प्राधिकरणका इन्जिनियरलाई निजी आवास पुनर्निर्माणलाई यथाशीघ्र सक्न कार्यक्षेत्रमा खटिएर काम गर्न आग्रह गर्दै प्रवलीकरणका बारेमा समेत भूकम्प प्रभावित घरधनीलाई प्रोत्साहन गर्न प्राविधिकलाई निर्देशन दिनुभयोे । त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) की प्रमुख सुनिता श्रेष्ठले निर्माण सम्पन्न भएका घरको अन्तिम निरिक्षण गरेर अभिलेखिकरण गर्नमा जोड दिनपर्ने बताउनुभयो ।

निजी आवास पुनःर्निर्माणमले गति लिएको भएपनि प्रवलीकरणको काम अगाडी नबढेकोले विशेष कार्ययोजना बनाएर अगाडी बढ्न आवश्यक रहेको उहाँको भनाई छ । कार्र्यक्रममा नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटाले पुर्निर्माणमा आएका समस्यालाई सबै सरोकारवाला निकायसंग छलफल गरेर समाधान गर्ने तर्फ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयोे । उहाँले प्रवलीकरणको सुचीमा परेका घरधनीले आफ्ना  मौलिक घरलाई जोगाउन समेत प्रवलीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पुराना सामाग्रीको प्रयोग गरेर घर निर्माण गर्न सकिने अबस्था संगै वैकल्पिक  प्रविधि र प्रवलीकरण तथा सुधार सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा पुनःनिर्माणमा खटिएका इन्जिनियरहरुलाई प्रवलीकरण तथा वैकल्पिक प्रविधिका घर जस्ता तारजाली प्रविधि, होलो कंक्रिट बल्कको प्रविधिको घर निर्माण सम्बन्धि तालिम दिइएको थियो । कार्यक्रम भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सहयोगमा सम्पन्न भएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्