काठमाडौं, २२ भाद्र २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत रहेको समितिमा प्रतिनिधित्व गर्ने सांसदहरु हेरफेर गरेको छ । सभापति शेरबहादुर देउवा विकास तथा प्रविधि समिति छाडेर कानुन, न्याय तथा मानवअधिकार समितिमा गएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसदहरूको समिति हेरफेर भएको घोषणा गरेकी हुन् । प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित प्रतिनिधिसभा अन्तर्गतका समितिमा सांसदहरूको नाम हेरफेर गर्न सभाको सहमतिका लागि उनले प्रस्ताव गरेकी थिइन्।

कानुन न्याय तथा मानव अधिकार समितिबाट कांग्रेसकै सांसद सञ्जयकुमार गौतम भने विकास तथा प्रविधि समितिमा पुगेका छन् । सांसद महेन्द्र कुमारी लिम्बू कानुन न्याय तथा मानवअधिकार समितिबाट महिला तथा सामाजिक समितिमा पुगेकी छन् । अर्का सांसद कर्मा घले महिला तथा सामाजिक समितिबाट कानुन न्याय तथा मानवअधिकार समितिमा पुगेका छन् ।

सांसद स्मृति नारायण चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट कानुन, न्याय तथा मानवअधिकार समिति, सांसद देवप्रसाद तिमिल्सिना कानुन न्याय तथा मानवअधिकार समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा लगिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्