- ADVERTISEMENT -

सीमा क्षेत्रमा सेवा पु-याउँदै टेलिकम

July 3, 2020
557
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शुक्रबार, १९ असार २०७७ । टेलिकम टावरसहितका उपकरण हिउँले बिग्रिएपछि लामो समय दूरसञ्चार सेवाबाट वञ्चित दार्चुला व्यास गाउँपालिकाका सर्वसाधारण असार ८ गतेदेखि फेरि फोनमा जोडिए । भीस्याट टर्मिनलसँग जोडिएको टेलिकमको सीडीएमएको उक्त टावर मर्मतपछि फेरि सञ्चालनमा आउँदा व्यास गाउँपालिकाका मात्र हैन, सीमापारि धार्चुलाका भारतीय जनता पनि लाभान्वित भए । सरकारले हालै मात्र सो क्षेत्रमा स्थापना गरेको सशस्त्र प्रहरी बलको बीओपीमा सम्पर्कका लागि पनि यसले सहजता ल्यायो ।

व्यावसायिक रूपमा निकै कम प्राथमिकतामा पर्ने खासगरी विकटका सीमा क्षेत्रमा टेलिकमले पछिल्लो समय सेवा विस्तारलाई यसैगरी प्राथमिकतामा राखेको जनाएको छ । उपकरण आपूर्ति, टावर निर्माण र सञ्चालनमा कठिनाइ, अधिक खर्च तथा न्यून नाफा रहे पनि सीमा क्षेत्रका बासिन्दालाई दूरसञ्चार सेवा पु¥याउने गरी काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

टेलिकमले पछिल्लो समय हुम्लाको हिल्सा, सङ्खुवासभाको किमाथाङ्का र ताप्लेजुङको ओलाङचुङ्गोलामा टावर निर्माण गर्ने योजना बनाएको छ । यी क्षेत्रका बासिन्दालाई दूरसञ्चार सेवासँग जोड्न आवश्यक तयारीको काम भइरहेको अधिकारीले जानकारी दिनुभयो । अहिले योजनाकै चरणमा रहे पनि टावर निर्माण र सञ्चालनका विषयमा अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

टेलिकमले यसअघि मुस्ताङको कोरला, मनाङको फु, गोरखाको सामागाउँ र छेकम्पार, रसुवा नाका, सिन्धुपाल्चोकको तातोपानी र दोलखाको बेदिङजस्ता सीमा क्षेत्रमा सेवा विस्तार गरिसकेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार विकट क्षेत्रका सीमा क्षेत्रमा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने तथा टावर निर्माण र यसको सुरक्षाका लागि खर्च बढ्ने हुँदा सहरी क्षेत्रको तुलनामा लागत दोब्बरभन्दा बढी हुन्छ ।

अहिले सहरी क्षेत्रमा एउटा टावर निर्माणका लागि १५ देखि २० लाख रुपियाँ लाग्नेमा विकटका सीमा क्षेत्रमा भने एउटा टावरका लागि ५० लाखभन्दा बढी लागत पर्ने अधिकारीले जानकारी दिनुभयो । कतिपय अवस्थामा ७०-८० लाखभन्दा बढी खर्च पनि हुन आउँछ, उहाँले भन्नुभयो ।

सीमा क्षेत्रमा ग्राहक आधार निकै कम हुने भए पनि राज्यको दूरसञ्चार सेवा प्रदायकका रूपमा टेलिकमले सेवा विस्तार गर्दै आएको जनाएको छ । सीमा क्षेत्रमा सरकारी दूरसञ्चार सेवा प्रदायकको उपस्थितिले कतिपय अवस्थामा सीमारेखाकै रूपमा काम गर्छ, उहाँले भन्नुभयो । सीमा क्षेत्रमा दूरसञ्चारको उपस्थितिले सम्बन्धित देशको सीमा क्षेत्रका बारेमा बलियो प्रमाण हुनसक्ने उहाँको बुझाइ छ । यद्यपि टेलिकमले विकटका सर्वसाधारण नेपालीलाई सेवा पु¥याउने मुख्य उद्देश्यले सीमा क्षेत्रमा सेवा विस्तार गरिरहेको उहाँले बताउनुभयो ।

देशैभर अहिले टेलिकमका करिब तीन हजार ५९२ टावर सञ्चालनमा छन् । फोरजी/एलटीई नेटवर्क निर्माणमा ठूलो खर्च गरिरहेको टेलिकमले आगामी आर्थिक वर्षमा थप एक हजार यस्ता टावर निर्माण र सञ्चालन गर्ने योजना बनाएको छ । त्यस हिसाबले आगामी आव पूरा हुँदासम्म टेलिकमको टावरको सङ्ख्या चार हजार पाँच सयभन्दा बढी हुने कम्पनीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -