- ADVERTISEMENT -

पालुङटार न पा : नयाँ बिद्यालय पाएपछि विद्यार्थी खुशी, बिर्सायोे भूकम्प

January 28, 2020
876
Shares
- ADVERTISEMENT -

गोरखा, १४ माघ २०७६ । विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर ।

पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै पुरिए भूकम्पमा । पानी पर्दा हिलो घामलागे धूलो, बाहिर निस्केर खेल्ने ठाउँमा ढुंगा र बालुवाको पहाड।

- ADVERTISEMENT -

Advertisement

४ वर्ष देखि जस्ताको अस्थायी टहरामा यस्तै नियतिका साथ पढ्दै आएका लक्ष्मी माध्यमिक विद्यालय पालुङटार–६, गाईखुर गोरखाका विद्यार्थीहरुले नयाँ भवन पाएपछि फुरुङ्ग बने । खुसीले उफ्रिए, चिच्याए, नाचे र धेरै बेरसम्म भवनका भित्ता र नयाँ डेस्कबेञ्च मुसारिरहे ।

अस्थायी छाप्रामा पढ्दै आएका विद्यार्थीहरु सोमबार नयाँ भवनमा पढ्न पाउने भएपछि एकाएक रोमाञ्चि बने । विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र शिव नेपालीले नयाँ भवनमा पढ्न पाइने भएकोमा खुसीको कुनै सीमा नै नरहेको बताए ।

छाप्रामा पढ्दा भूकम्पको सम्झना आइरहने भएपनि नयाँ भवन देखेर भूकम्प नै बिर्सिएको उनले गीत मार्फत नै सुनाए ।

यस्तै कक्षा ८ की छात्रा सरु श्रेष्ठले छाप्रामा पढ्दा घामपानीले सताउने गरेको गुनासो गर्दै अब पक्की भवनमा त्यो समस्या नआउने बताइन् । पानी पर्दा बाछिटाले पुरै रुझिन्थ्यो, हिलोमा कति साथीहरु लड्थे–श्रेष्ठले भनिन्, अब नयाँ भवन पाएपछि हिलोमा चिप्लिएर लड्नु पर्दैन ।

कक्षा ३ की छात्रा सुस्मिता मगरातीले जस्ताको छाप्रोमा पढ्दा एउटा कक्षाको हल्ला सबै कक्षामा पुगेर पढाइलाई अवरोध हुने गरेको स्मरण गर्दै अब छुट्टा छुट्टै कक्षामा पढ्न पाउने भएकामा खुसी लागेको बताइन् ।

कक्षा १० का छात्र सञ्जय मल्ल पनि विद्यालयको नयाँ भवन हेरर धेरै बेर टोलाए । उनले भने– अब त हावा लागेपनि छाना नउड्ने भयो ।

नयाँ भवनको खुसी विद्यार्थीमा मात्रै सिमित रहेन । अभिभावकहरु पनि नयाँ भवन देखेर सन्तुष्ट भएका देखिन्थे । स्थानीय अभिभावक रामकुमार श्रेष्ठले विद्यालयमा नयाँ भवन बनेकोमा खुसीकोसीमा नै नरहेको बताए । जिल्लाकै पुरानो मध्येको यस विद्यालय भूकम्प पश्चात् अस्थायी टहरामा सीमित भएको थियो । उनले भने– नयाँ भवनसँगै विद्यालयको विरासत फर्केको छ ।

अर्का स्थानीय पुष्पलाल श्रेष्ठले अस्थायी टहरामा विदार्थी पढ्न पठाउँदा दिनभर नै चिन्ता लागिरहने भन्दै अब पक्की भवन बनेपछि सबै पीर हटेको खुसी व्यक्त गरे ।

भव्य समारोहका बीच सोमबार जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ६ करोड लागतको तीन ब्लकको २४ कोठे नयाँ भवन विद्यालयलाई हस्तान्तरण गरेको हो ।

विद्यार्थीमैत्री, अपाङ्गतामैत्री र भूकम्प प्रतिरोधी नयाँ भवनमा अत्याधुनिक विज्ञान प्रयोगशाला, पुरस्तकालय, कम्प्युटर ल्याव, किचेन, शौचालय, खानेपानी, इसिडिलगायतका सुविधा रहेका छन् ।

२०७२ सालको विनासकारी भूकम्पले विद्यालयका भवन भत्काएपछि विद्यार्थीहरु टिनले छाएको र टिनले नै बारेको अस्थायी टहरामा पढ्दै आएका थिए ।

२ वर्षमा निर्माण सम्पन्न विद्यालय भवनको ०७५ बैशाखमा निर्माण शुरुभएका थियो । एक भव्य समारोहका बीच सोमबार विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।

शुरुमा एमवी गौरी पावर्ती निर्माण कम्पनीका प्रतिनिधि इञ्जिनियर निशान अधिकारीले निर्माण गरिएको भवनको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बिष्णुप्रसाद मिश्रलाई हस्तान्तरण गरेका थिए ।

लगत्तै मिश्रले सो भवनको साँचो प्रमुख अतिथि एवं पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री एवं नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेलाई हस्तान्तरण गरेका थिए । पाण्डेले पालुङटार नपाका ६ नम्बरका वडाध्यक्ष गोविन्द बराकोटीलाई, बराकोटीले साँचो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम काराखेतीलाई र विव्यस अध्यक्ष काराखेतीले अन्तिममा भवनको साँचो विद्यालयका प्रधानाध्यापक टिकाराम श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -