- ADVERTISEMENT -

पत्रकारमाथिको आक्रमण र हत्या रोकिएन

December 19, 2018
1118
Shares
- ADVERTISEMENT -

वासिङटन,(रासस/एएफपी), ४ पौष २०७५ । पत्रकारहरु सन् २०१८ मा पनि हत्या, हिंसा र आक्रमणको तारो बनेका छन् । विश्वका कतिपय स्थानमा युद्ध र द्वन्द्वका घटनामा कमी आएपनि पत्रकारमाथिको आक्रमणका घटनामा कमी नआएको एक विश्व संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

कमिटी टू प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार यस वर्ष आफ्नो पेशागत कार्यमा रहेकै अवस्थामा ५३ जना पत्रकारको हत्या भएको छ । यीमध्ये ३४ जना पत्रकारको हत्या युद्ध वा द्वन्द्वसँग असम्बन्धित छन् । “रिपोर्टिङका क्रममा प्रतिशोधका आधारमा मारिएका पत्रकारको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा दोब्बर भएको छ ।” न्यूयोर्कस्थित सीपीजेले प्रकाशन गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । यसैसाता पेरिसस्थित रिपोर्टर्स विदाउट बोर्डर्सले प्रकाशन गरेको प्रतिवेदन पनि सीपीजेसँग मिल्दोजुल्दो छ । रिपोर्टर्स विदाउट बोर्डर्सले यस वर्ष ८० जना पत्रकारको हत्या भएको प्रतिवेदन गत साता सार्वजनिक गरेको थियो । उक्त संस्थाले ब्लगर, नागरिक पत्रकार र सञ्चारकर्मीको मृत्युको गणना गरेको थियो । दुबै प्रतिवेदनले संवाददातामाथि प्रतिशोधका घटना निरन्तर बढेको जनाएका छन् । सीपीजेले आफ्नो प्रतिवेदनमा इस्तानबुलको साउदी अरेबिया महाबाणिज्यदूतावासमा भएको वासिङटन पोस्टका स्तम्भकार जमाल कशोग्जीको “निर्लज्ज हत्या”लाई पनि समावेश गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

सीपीजेको प्रतिवेदनमा तीन वर्षको अवधिमा हत्या गरिएका पत्रकारको कूल संख्या बढी भएपनि सन् २०११ यता द्वन्द्वमा मारिएका पत्रकारको संख्यामा कमी आएको उल्लेख छ । “पत्रकारमाथि आक्रमणका घटना बढी हुने अफगानिस्तानमा अझै पनि खतरनाक परिस्थिति छ र पत्रकार मारिनेक्रम रोकिएको छैन,” प्रतिवेदनमा भनिएको छ । अफगानिस्तानमा एएफपीका प्रमुख फोटोग्राफर शाह माराई गत अप्रिलमा भएको विद्रोहीको बम हमलामा मारिनुभएको थियो । उक्त घटनामा उहाँसमेत २५ जनाको हत्या भएको थियो ।पत्रकारको अधिकार र सुरक्षाका सम्बन्धमा अन्तर्राष्ट्रिय नेतृत्व कमजोर बन्न थालेको पाइएको छ, खासगरी जमाल खशोग्जीको हत्याका आरोपीलाई बचाउन शक्तिशाली राष्ट्रको मुख्य नेतृत्व क्रियाशील रहेको सीपीजेको निचोड छ । सञ्चार क्षेत्रका लागि परिस्थिति दिनदिनै प्रतिकूल हुँदै गएको छ ।

“खशोग्जीको हत्याका बारेमा सबैभन्दा प्रखर रुपमा टर्कीका राष्ट्रपतिले आवाज उठाउनुभयो, तर उहाँकै सरकारले स्वतन्त्र मिडिया बन्द गराउन प्रमुख भूमिका निर्वाह गरिरहेको छ र अरु देशको भन्दा बढी पत्रकार यही देशमा बन्दी बनाइएका छन्,” सीपीजेका इलाना बेइजरले जारी गर्नुभएको प्रतिवेदनमा भनिएको छ ।

“विश्वव्यापी प्रेस स्वतन्त्रताको सशक्त प्रतिरक्षक ह्वाइट हाउसले पनि खशोग्जीको हत्याका बारेमा स्पष्ट हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग व्यापार गर्ने राष्ट्रले पत्रकारको हत्या गर्न स्वतन्त्र रहेझैं गरी मन्तव्य दिइरहनु भएको छ जहाँ कुनै कारणको जरुरत समेत पर्दैन ।” सीपीजेले सन् २०१८ मा मारिएका अरु २३ जना पत्रकारका बारेमा पनि अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -