- ADVERTISEMENT -

टुंगो लाग्यो जापान जाने नेपाली कामदारको परीक्षा मिति

August 13, 2019
1093
Shares
- ADVERTISEMENT -

काठमाडौं, २८ साउन २०७६ । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ ।

आगामी कात्तिक १० र ११ मा भाषा परीक्षा र १९ र २० गते सीप परीक्षण गर्ने गरी मिति टुंगो लगाइएको हो । परीक्षाका लागि आवेदकले ४ हजार ५ सय येन शुल्क तोकिएको छ ।

- ADVERTISEMENT -

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउनेछन् । जापानले यसका लागि कुनै विषयमा प्रमाणपत्र वा तालिमको प्रमाणपत्र पेस गर्नु नपर्ने बताएको छ । भाषा परीक्षा र सीप परीक्षणमा पास भए मात्रै पुग्छ ।

जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष/अदक्ष कामदार लैजाने सहमति गरे पनि पहिलो वर्ष नर्सिङ कियर गिभरको क्षेत्र छानेको हो । जापानले ५ वर्षभित्र नर्सिङ क्षेत्रमा ६० हजार विदेशी कामदार लैजाने नीति अघि बढाएको छ । नेपालबाट मात्रै लैजाने संख्या भने सार्वजनिक गरेको छैन । कम्पनीले माग गरेअनुसार कामदार छानिने मन्त्रालयको भनाइ छ ।

जापानमा नेपाली कामदार सरकारी संयन्त्रबाटै पठाइनेछ । म्यानपावरको संलग्नतालाई स्वीकार गरिएको छैन । भाषा परीक्षण गर्न जापानले अन्तर्राष्ट्रिय कम्पनी ‘प्रो म्याट्रिक कम्पनीलाई जिम्मा दिएको छ । सीप परीक्षण गर्न जापान फाउन्डेसनले पनि एउटा अन्तर्राष्ट्रिय संस्थालाई तोकेको छ । सीप र भाषा दुवै कम्प्युटरमा आधारित हुनेछ । सहसचिव उमेश ढुंगानाका अनुसार परीक्षा सकिएलगत्तै परीक्षार्थीले पासफेल थाहा पाउनेछन, एकपटक भाषामा पास भएपछि त्यसले १० वर्षसम्म मान्यता पाउनेछ ।

भाषा परीक्षाका लागि २५ सय, सीप परीक्षाका लागि एक हजार र नर्सिङ क्षेत्रका लागि एक हजार गरी ४ हजार ५ सय जापानी येन शुल्क लाग्नेछ । भाषा र सीप परीक्षणमा सहजीकरण गर्न वैदेशिक रोजगार विभागमा जापान एकाइ बनाइएको छ । सरकारी समझदारीअनुसार भिसा प्रक्रियामा लाग्ने सबै खर्च र टिकटको खर्च रोजगारदाताकै जिम्मेवारीभित्र पर्नेछ । जापानले ९ स्रोत मुलुकबाट ५ वर्षभित्र १४ वटा क्षेत्रमा ३ लाख ४२ हजार विदेशी श्रमिक लिने निर्णय गरेको छ । जापान फाउन्डेसन भाषाको जापानी भाषा केन्द्रले विशेष दक्ष कामदारलाई भाषा सिकाउन नेपाली प्रशिक्षकलाई तालिम दिने भएको छ । यो वर्ष झन्डै ४० जनालाई जापानमै लगेर तालिम दिने योजना बनाएको छ ।

तीन वर्ष जापानी भाषा सिकाइरहेका र जापानमा कम्तीमा एक वर्ष काम गरेका वा बसेकाहरूले भाषा प्रशिक्षकका लागि आवेदन दिन पाउनेछन् । यसका लागि तालिम दिइने कार्यतालिकासमेत सार्वजनिक गरिएको छ । पहिलो चरण १९ नोभेम्बरदेखि १८ डिसेम्बर (२०१९), दोस्रोपटक ७ जनवरीदेखि ६ फेब्रुअरी (२०२०) र तेस्रोपटक १८ फेब्रुअरीदेखि मार्च १९ (२०२०) मा तालिम दिइनेछ । यो तीन वटा कार्यतालिकामा नेपाली प्रशिक्षकले भाग लिन पाउनेछन् ।

पहिलो चरण हुने कार्यतालिकाको आवेदन दिने समय भदौ ३ सम्म छ । दोस्रो चरणका लागि असोज ३ सम्मको समय छुट्याइएको छ । जापानले गत अप्रिल १ देखि कृषि, नर्सिङ, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ, पेय पदार्थ र पेय उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, भवन सरसफाइ तथा व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवं हवाई उद्योग गरी १४ क्षेत्रमा विदेशी श्रमिक लिने नीति लिएको थियो ।

झन्डै ३० वर्षको अवधिमा जापानमा नेपालीको संख्या ८५ हजार ३ सय २१ हजार पुगिसकेको छ । सन् १९९० देखि नेपालीहरू जापान जान थालेका हुन् । त्यस वर्ष ४ सय ४७ जना नेपाली जापान गएका थिए । सन् २००० देखि विद्यार्थी भिसा, दक्ष कामदार र पारिवारिक भिसा लिएर जापान जान थालेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -