- ADVERTISEMENT -

घरदैलो अभियान शुरु

February 18, 2020
1082
Shares
- ADVERTISEMENT -

भक्तपुर, ६ फागुन २०७६ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराउँदै कुनै पनि भाइरसको सङ्क्रमणबाट कसरी बच्ने भन्नेबारेमा जानकारी गराउँदै संयुक्त टोली घरघरमा पुगेको हो ।

प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै पनि समस्या देखिए यहाँ गएर जाँच गराउन सक्नेबारेमा जानकारी गराएका थिए ।
चीनको उहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयवासीले घर छाड्न थालेको र उनीहरु त्रासमा रहेको चर्चा चलेपछि स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले जानकारी दिए ।

टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको, मास्क कसरी लगाउने, दैनिक हात कसरी धुनेलगायतका बारेमा जानकारी गराइएको पौडेलले बताए ।

घरदैलोमा स्थानीयवासीलाई प्रहरी उपरीक्षक प्रधानले रुघाखोकी नसरोस् भनेर पनि सावधानी अपनाउनुपर्ने बताउँदै नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्नेजस्ता सावधानी अपनाउनुपर्ने बारेमा जानकारी गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -