पोखरा, २३ भाद्र २०७६ । गोरखा क्षेत्र २ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीलाई डेंगुको संक्रमण भएको छ। ज्वोरोको कारण विगत तीन दिन देखि काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत सांसद दवाडीलाई डेंगु देखिएको पारिवारीक स्रोतले जनाएको छ।
गण्डकी प्रदेशको राजधानी डेंगुको उच्च जोखिममा छ। कास्कीसँगै स्याङ्जा, तनहुँ पनि जोखिममा छन्। अन्य पर्वत, म्याग्दी लगायतका जिल्लामा पनि यसको संक्रमण रहेको स्वास्थ्य निर्देशनालयका यम बरालले जानकारी दिए। ‘अहिले दिनमा ७०, ८० जनाको दरले विरामी बढेका छन्,’ उनले भने, ‘प्रदेशभरी करिब एक हजार जनामा यसको संक्रमण भइसकेको छ।’
- ADVERTISEMENT -
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो। गण्डकी प्रदेशको ११ जिल्ला मध्ये मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा यसको संक्रमण रहेको आशंका गरिएको छ। गाडीका थोत्रा टायर, कवाडी सामानको संकलन केन्द्र, पानी जम्ने खाल्डा, घर वरपरका झाडीका कारण डेंगु सार्ने लामखुट्टे फैलिएको स्वास्थ्यकर्मीहरु बताउँछन्।