- ADVERTISEMENT -

गण्डकी प्रदेशका जनप्रतिनिधि भन्छन् : सडक नै पहिलो चिन्ता

January 23, 2020
766
Shares
- ADVERTISEMENT -

पोखरा, ९ माघ २०७६ । भूगोलका हिसाबले हिमाल, पहाड र तराई तीनवटै संरचना भएको प्रदेश हो गण्डकी । उत्तरमा चीनसँगको कोराला नाका जोडिएको यो प्रदेश दक्षिणमा भारतसँग त्रिवेणीधाम जोडिएको छ ।

भौगोलिक विविधतायुक्त यो प्रदेश विकासमा उत्तिकै सम्भावना बोकेको छ तर सडक पूर्वाधार भने यहाँको पहिलो आवश्यकता हो । उत्तरदेखि दक्षिणसम्मका भूभागलाई ११ जिल्लामा समेटिएको यस प्रदेशमा ८५ वटा स्थानीय तह छन् ।

- ADVERTISEMENT -

Advertisement

भौगोलिकरूपमा टाढा भएका कारण प्रदेशको हिमाल, पहाड र तराईका जनप्रतिनिधि एकापसमा भेट्न सामान्यतः मुस्किल नै छ । आज भने हिमाल, पहाड र तराईका जनप्रतिनिधि एकै ठाउँमा पोखरामा भेट्दा सबैको चासो र चिन्ता सडक सञ्जाल नै देखिन्थ्यो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा मतदान गर्न पोखरा आएका प्रत्येक जनप्रतिनिधिको एउटै स्वर थियो, “बाटो नभएर नै विकासले गति लिन सकेन ।” हिमालपारिको जिल्ला मुस्ताङको लोमाङथाङ गाउँपालिकाका उपप्रमुख पेमा डोल्मा विष्टले धेरै सम्भावना रहेर पनि सडक सञ्जाल नजोडिँदा समृद्धि र विकासमा अपेक्षित गति आउन नसकेको धारणा राखे ।

“प्रकृति र संस्कृतिका धेरै कुराले हामी सम्पन्न छौँ, तर सडक सञ्जालकै अभावमा यी कुराको भरपुर उपयोग हुन सकेको छैन”, उनले भने, “कोरालादेखि त्रिवेणीसम्म सडक सञ्जाल सहज नहुँदासम्म यहाँको विकासले फड्को मार्न नसक्ने देखिन्छ ।”

जोमसोम–उपल्लो मुस्ताङ सडकखण्डमा बाटो निर्माण भइरहेको बताउँदै उनले यसअन्तर्गत समरको भिरमा भौगोलिक जटिलताका कारण कामले अपेक्षित गति लिन नसकेको बताए । पर्यटकीय दृष्टिले धेरै सम्भावनायुक्त यो क्षेत्रमा सडक सञ्जाल सहज भएसँगै स्थानीय सर्वसाधारण एवं पर्यटक सबैलाई आवतजावत गर्न सहज हुने उनको धारणा छ ।

छिमेकी मुलुक भारतसँग सीमा जोडएको विनय त्रिवेणी गाउँपालिकाका प्रमुख डम्बरबहादुर जिसीले सडक सञ्जालकै अभावमा गण्डकी प्रदेशभित्र भएर पनि आफूहरुले प्रदेशवासी भएको अनुभूति गर्न नपाइएको दुःखेसो गरे । प्रदेशको राजधानी आउन मात्र नभई आफ्नै गाउँपालिकाको केन्द्र पुग्नसमेत अर्को प्रदेश भएर जानुपर्ने बाध्यता रहेको उनले बताए ।

“विनय त्रिवेणीका ६ र ७ वडाका सात हजारभन्दा बढी स्थानीय बासिन्दालाई गाउँपालिकाको सदरमुकाम जान पनि ५५ किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता छ”, उनले भने, “मध्यवर्ती संरक्षण क्षेत्र हुँदै आवतजावत गर्ने व्यवस्था मिलाइदिएमा सो दूरी २२ किलोमिटरमा झर्दछ ।” नवलपुर क्षेत्रका सर्वसाधारणलाई गण्डकी प्रदेशको जनता भएको अनुभूति गराउन पनि यथाशक्य चाँडो प्रदेशको राजधानी पोखरासँग सडक सञ्जाल जोडिनुपर्ने उनको भनाइ छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख छत्रप्रसाद पौडेलले बाटोकै अभावमा धेरै सम्भावना ओझेलमा परेको अनुभव सुनाए । नारायणी नदीको तटबन्धसँगै बाटो खुलाएर व्यवस्थित गर्नसके विनय त्रिवेणीको वडा नं ६ र ७ पनि यातायात सञ्जालमा जोड्ने र यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको उनले उल्लेख गरे ।

लमजुङ जिल्लाको क्होलासोंथर गाउँपालिकाका उपप्रमुख कुमारीमुनी गुरुङले गाउँपालिका भित्रै पनि सडक सञ्जालको अभावमा जनता पिल्सिरहेको बताए । गुरुङ समुदायको आदिभूमि क्होलासोंथर, यसको ऐतिहासिकता र प्राकृतिक सौन्दर्यता हेर्न र जान्न चाहने जो कोहीका लागि सडक पूर्वाधारको अभाव समस्याका रूपमा देखिएको उल्लेख गर्दै उनले यसतर्पm सङ्घ र प्रदेश सरकारको समन्वय एवं सहयोग अपरिहार्य भएको बताएका थिए ।

यहाँका विभिन्न रमणीय गाउँमा घरबास सञ्चालन भएको जानकारी दिँदै उनले कच्ची बाटोका कारण हिउँदमा मात्र यातायातका साधन सञ्चालन हुने भएकाले बाह्रै महिना पर्यटक पुर्‍याउन नसकिएको बताउनुभयो । धेरै सम्भावना रहेर पनि सडक पूर्वाधारका अभावमा पर्यटकीयस्थलको प्रवद्र्धन गर्न नसकिएको उनको भनाइ छ ।

कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले प्रदेशको राजधानी पोखरासँग जोडिएर पनि गाउँपालिकाको कुनै पनि सडक हालसम्म कालोपत्र हुन नसकेको बताए । आफूहरु निर्वा्चित भइसकेपछि यहाँको कसेरी–याङ्जाकोट सडकका साथै कसेरी सिक्लेस सडक कालोपत्र चरणमा अघि बढेको उनले बताएका थिए ।

सडक सञ्जाल नै प्रदेशको विकास निर्माणमा बाधक बन्ने गरेको बताउने प्रदेशसभा सदस्य लक्ष्मी सुनार यसका लागि सङ्घ, प्रदेश र स्थानीय तह सबैको समन्वय हुनु आवश्यक रहेको बताउछन् । आवश्यक सडक पूर्वाधार निर्माणलाई गति दिँदै समग्र प्रदेशको समृद्धि र विकासमा लाग्नु वर्तमानको टड्कारो आवश्यकता भएको उनको भनाइ छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -