दोलखा, कार्तिक १७ । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ ।
दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो ।
केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।
कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।
त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।
कालीञ्चोक दर्शन लिमिटेडले साढे दुई वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब रु ४५ करोडको लागतमा सम्पन्न भएकोे हो ।
केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति रु पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए ।
सर्वसाधारणलाई रु पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।
स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ ।
कालीञ्चोकको कुरीदेखि मन्दिरसम्म पुग्नका लागि एक किलोमिटरको उकालो हिँड्नुपर्ने भएका कारण कतिपय धार्मिक पर्यटक त्यही उकालो हिँड्न नसकी बीच बाटैबाट फर्कने गरेका छन् । केबुलकार निर्माण भएसँगै पाँच मिनेटको पैदलमा कालीञ्चोक मन्दिरको दर्शन गर्न सकिन्छ ।
मङ्सिरदेखि फागुनसम्म हिमपात हुने कालीञ्चोक क्षेत्रमा केबुलकार निर्माण भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरेको छ । केबुलकारबाट कुरी बजार, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।