औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । राष्ट्रपतिसँग भएकाे छलफलका थप कुरा थाहा पाउन कुर्नु पर्ने भएकाे छ ।

दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ । राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि अर्पण गरे ।

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गर्नुभएको निमन्त्रणापत्र हस्तान्तरण गरे ।

राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी ले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट भएको थियो । याे अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाईसम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताए ।

चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली बिहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा व्यस्त भए । उनले नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गरे भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा सहभागी भए ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्