काठमाण्डौ, १९ मङ्सिर २०७५ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले पार्टीको विधान सबैलाई चित्त बुझाएर सर्वसम्मत रुपमा पारित गरिने दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले सबै केन्द्रिय सदस्हरुबाट आएको सुझाबलाई लिपिवद्ध गरेर विधान तयार गर्नुपर्ने बताए ।

“हामीले बैचारिक सहमति गर्नैपर्छ । सबैले फरक फरक विचार नै महासमितिमा लैजाने हो भने होहल्ला र भद्रगोल मात्रै हुन्छ । त्यसैले सर्वसम्मती गर्नुपर्छ ।” खड्काले भने ।

सरकारको दुर्गतिविरुद्ध एक हुनका लागि कांग्रेसका नेताहरु प्रतिवद्ध हुनुपर्ने खड्काले बताए । विधान संशोधनलाई नेताहरुले व्यक्तिगत स्वार्थसँग जोडेर हेर्न नहुने उनको तर्क छ ।

सामान्य विवाद र पक्ष–विपक्ष हुनु स्वभाविक भए पनि पार्टी कमजोर हुने गरी अडान नलिन खड्काले सुझाब दिए ।

देश र जनताप्रतिको वफादारितालाई बटमलाईन मानेर जाने हो भने मतभेदको अन्त्य हुने उनले बताए । पार्टीको नेतृत्व लिनका लागि उमेरहद लगाउनुपर्ने तर्कप्रति लक्षित गर्दै खड्काले ७० वर्षको होइन ५० वर्षको उमेरहद लगाउन सुझाब दिए ।

महाधिवेशनबाट चुनिएर आउने भएकाले उमेरहद लगाउन जरुरी नरहेको खड्काको तर्क छ । अहिले पनि सक्षम युवाहरु अगाडि आइरहेकाले उमेरहदको आवश्यकता नरहेको उनको भनाई छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्