काठमाडौं, १ मङ्सिर २०७६ । नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा नाम लेखाइसकेका हिरोमी इसोइकालाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रम आयोजना गरी भ्रमण वर्षका संयोजक सुरज वैद्यले उनलाई सद्भावना दूतको प्रमाण–पत्र हस्तान्तरण गरे । सन् २००१ जनवरी १ का दिन विश्वकै सबैभन्दा ठूलो ड्रम बनाएर गिनिज बुकमा नाम देखाएका इसोइकाले सन् २००३ देखि नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

पेसाले निर्माण व्यवसायी इसोइकाले २७ वर्षमा ४० पटक नेपाल आइसकेका छन् । पशुपति क्षेत्रमा बायो शौचालय बनाएर विश्वभर चर्चामा आएका उनी केही वर्षअघि छोरी र श्रीमतीका साथ नेपाल आउँदा महिलाहरुलाई शौच गर्न कठिन भएको देखेपछि उक्त काम गरेको भन्दै उनले निकट भविष्यमा नेपालका विभिन्न भागमा शौचालय निर्माण गर्ने योजना सुनाए ।

नेपाल–जापान दौत्य सम्बन्ध ५० वर्ष पुगेको अवसरमा काठमाडौं, टुँडिखेलमा जापानमा झैं विश्वकै ठूलो ड्रम बनाएर प्रदर्शन गरेका इसोइका नेपाल–जापान मैत्री समाजका जापान पक्षको अध्यक्ष समेत छन् । ‘नेपाल आउँदा आफ्नो पुराना घर आएको महसुस हुने बताएका इसोइकाले नेपालले घोषणा गरेको भ्रमण वर्ष सफल पार्न लागिपर्ने प्रतिबद्धता जनाए । नेपालमा पर्यटनको सम्भावना धेरै रहेकाले हिमाल बाहेकका अन्य क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्न सक्नुपर्ने उनको सुझाव छ ।

संयोजक वैद्यले पर्यटन वर्ष मनाउनुका कारणहरु स्पष्ट पार्दै जापानका युवा वर्गलाई नेपाल भ्रमणमा आकर्षित गर्नमा इसोइकाको ठूलो भूमिका हुने धारणा राखे ।