ललितपुर, २५ मङ्सिर २०७५ । विश्वमा पानीको मुख्य स्रोतका रूपमा समुद्रलाई लिने गरिन्छ तर, स्वच्छ पानीका लागि भने पर्वतीय क्षेत्र नै प्रमुख देखिएको छ । पर्वतीय क्षेत्रको संरक्षणले पानीको शुद्धतामा विशेष ध्यान पुग्ने विज्ञहरूले बताएका छन् ।

पर्वतीय क्षेत्रमा विश्वको कुल जनसंख्याको १३ प्रतिशत अर्थात् ९१ करोड ५० लाख मानिस बसोबास गर्ने गरेका छन् । पर्वतीय क्षेत्रले त्यहाँ बसोबास गर्नेको जनजीविका र कल्याणमा मात्रै नभई अप्रत्यक्ष रूपमा तल्लो क्षेत्रमा बसोबास गर्ने करोडौं मानिसलाई पनि फाइदा पु¥याएको छ ।

‘पर्वत अर्थात् अग्लाअग्ला माटो तथा चट्टानले बनेको भीमकाय भूगोल, जहाँबाट कलकल गर्दै उर्लने नदीका विभिन्न स्रोतहरूबाट नै हामी पिउन योग्य पानी प्राप्त गर्ने गर्छौं,’ इसिमोडको विज्ञ प्रदीप मुले राजधानीसँग भने, ‘अमूल्य जीवनरक्षक जडीबुटी होस् या लाखौं ती सुन्दर तथा दुर्लभ प्राणीजीवन होस् पर्वत जल, जीवन र वनस्पतिको स्वर्ग हो, ठूलो भण्डार हो ।’

पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतै–पर्वतयुक्त छ र यस ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसंख्याको झन्डै १३ प्रतिशत मानव जीवन बस्ने गरेका छन् । विश्वको कुल जनसंख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने गर्छन् ।

यसैगरी, नेपालको कुल भू–भागको ४३ प्रतिशत भू–भाग पहाडै–पहाडले भरिएको छ । जसको कुल १५ प्रतिशत भू-भाग हिमाली क्षेत्रले ओगटेको छ । नेपाल विश्व पर्वतीय दिवसको एउटा मूल केन्द्रबिन्दु भएको विज्ञ मुल बताउँछन् । उनकाअनुसार विश्वमै स्वच्छ पानी पाउने मुख्य हिमालहरू नेपालमा नै बढी हुनुले नेपालको हिमाली क्षेत्रको विषयमा विश्व समुदायले चासो व्यक्त गर्ने गरेको छ ।

विश्वमा बदलिँदो मौसमको रंग, तापक्रम तथा समुल प्राणी जगतको जीवनचक्रको मुख्य केन्द्रका रूपमा पर्वतीय क्षेत्रलाई लिइएको छ । मंगलबार विश्वभर विश्व पर्वतीय दिवस मनाइँदै छ । पर्वतीय क्षेत्रका लागि आवश्यक पार्ने विषयलाई यस वर्षको नाराले समेटेको छ । जसमा पर्वतीय क्षेत्रका लागि आवश्यक पर्ने र यस क्षेत्रमा रहेको पानी, विपद्को जोखिम न्यूनीकरण, पर्यटन, खाद्य, युवा तथा जैविक विविधताको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

पछिल्लो समय पृथ्वीले बालिँदो बढ्दो तापक्रमको मार झेल्दै छ, विगतमा सेताम्य देखिने हिम शृंखला निरन्तर काला पत्थर बन्दै गइरहेका छन्, हिँउ झर्नुपर्ने ठाउँमा निरन्तर वर्षा भइरहेका छन् र त्यस्ता स्थानमा विभिन्न वनस्पतिहरू देखिन थालेका छन् । यो विषयलाई यस वर्षको पर्वतीय दिवसले समेटेको छ ।

‘पर्वतीय क्षेत्रमा हुने अव्यवस्थित बसोबास तथा पानीका स्रोतमा भइरहेका अनेक विकास निर्माणका कार्यहरूले अनावश्यक रूपमा प्राकृतिक सन्तुलनमा नराम्ररी असर पारिरहेको छ,’ जल तथा मौसम विज्ञान विभागका डा. ऋषिराम शर्माले भन्नुभयो, ‘रूख काटिएका छन्, डाँडाकाँडासम्म पारिएका छन्, विशाल ढुंगा फोरिएका छन्, नदीनाला गिट्टी बालुवाविहीन बन्दै गइरहेका छन्, पर्वतीय खजानामाथि भएका निरन्तरको यो अप्राकृतिक दोहनले त्यहाँ आश्रित अनेक जीवजन्तु तथा चराचरहरूको दैनिकीलाई नराम्ररी असर गरेको छ ।’ उनका अनुसार पर्वतीय क्षेत्रमा रहेका कतिपय दुर्लभ जीवजन्तु तथा जडीबुटीहरू लोप पनि भइसकेको र अझै लोप हुने अवस्थगामा रहेका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवस मंगलबार १२ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्वमा जोड दिँदै हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस मनाउने गरिएको हो ।

दिवसमा जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणमा जोड दिने गरिएको छ । छुट्टै संस्कृति र परम्पराका कारण पर्वतीय क्षेत्रका बासिन्दाको पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका हुने गरेको छ ।

छुट्टै भूमि प्रयोग प्रक्रिया, जलवायु परिवर्तनको सामना गर्ने तरिकाको विकास, परम्परागत खाद्य पदार्थको प्रयोगजस्ता कारणले पर्वतीय समुदायको संस्कृति विशेषखालको रहेको र पर्वतीय क्षेत्रमा पाइने वस्तु विशेष जैविक विविधतायुक्त हुने गरेका भन्दै संयुक्त राष्ट्रसंघले त्यस्तो संस्कृति र संस्कारको सम्मान र जगेर्ना गर्नुपर्नेमा जोड दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्