काठमाडौं, १ भदौ, २०७५ । नेपालमै पहिलोपटक हस्तकलासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । यही भदौ १४ देखि १६ सम्म काठमाडौंमा विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रको ३७औं साधारणसभा तथा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो ।

सम्मेनलनमा एसिया प्रसान्त क्षेत्रका विभिन्न ४५ देशका एक सय जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक सस्था नेपाल हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सम्मेलनमा सहभागितका लागि हालसम्म भारत, चीन, कुबेत, बंगलादेश, काजकिस्तान, उज्वेकिस्तान, अष्ट्रेलिया, मलेसिया, श्रीलंका, इण्डोनेसिया, थाइल्याण्डले नाम दर्ता गराइसकेको छन् । हस्तकलाको बजार प्रबद्र्धन, कलाकार तथा कालीगढको क्षमता अभिवृद्धि, पर्यटन प्रवद्र्धन र सीप प्रविधि तथा आपसी अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिनुभयो ।

उहाका अनुसार सम्मेलनका अवसरमा महासंघसँग आबद्ध सदस्य हस्तशिल्पी कलाकारद्वारा निर्मित कला कृति तथा हस्तकलाका साथै सहभागी विभिन्न देशका कलाकारको कला र शिल्पले भरिपूर्ण हस्तकलासमेत प्रदर्शनी गरिने कार्यक्रम रहेको छ ।

प्रदर्शनीका लागि हालसम्म भारत, चीन, कुबेत, बंगलादेश, काजकिस्तान, ओमान, प्यालेस्टाइन, इरान, मलेसिया, श्रीलंका, इण्डोनेसिया, थाइल्याण्ड आदि मुलुकबाट एकदर्जन स्टल बुकिङ भइसकेका पनि महासंघले जनाएको छ । सम्मेलको उद्देश्य स्वदेशी तथा विदेशी कला, शिल्प तथा प्रविधिको आदानप्रदान गर्नु, कला प्रदर्शनीमार्फत नेपाली हस्तकलाको प्रचारप्रसार गरी नेपाली कला सस्कृतिको पहिचान र उजागर गर्नु, नेपालको पर्यटकीय, सांस्कृति एवं ऐतिहासिक धरोहर तथा आकर्षणको अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नु र विभिन्न देशका हस्त शिल्पी कलाकारद्वारा निर्मित कलाकृति तथा हस्तकला प्रदर्शनी गर्दै कलाकृति निर्माण प्रक्रियासम्बन्धी ज्ञानको आदानप्रदान गर्नु रहेको महासंघले जनाएको छ । सम्मेलनको अवसरमा ललितपुर महानगरलाई साँस्कृतिक नगरी घोषणा गर्ने कार्यक्रमसमेत रहेको छ ।

ललितपुर महानगरलाई कला नगरी घोषणाका लागि पुरातत्व विभाग, महासंघ, नेपाल हेरिटेज् सोसाइटी, ललितपुर चेम्बर अफ कमर्सले पहल सिफारिस गरेका थिए । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने आयोजकले जनाएको छ ।

हस्तकला व्यापार मेला पनि

नेपाल हस्तकला महासंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा १६ औं हस्तकला व्यापार मेला गर्ने भएको छ ।

कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने मेलामाा २५ जिल्लाका स्थानीय हस्तकलाको प्रदर्शनी तथा बिक्रीका साथै हस्तकलाका वस्तुगत प्याभिलियनसहित करिब दुई सय स्टल रहने बताइएको छ । मेलामा उत्कृष्ट प्रदर्शनी गर्नेे एउटा स्टललाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

नेपालले ८० मुलुकमा ५० भन्दा बढी थरिका हस्तकलाको निर्यात गर्दै आएको छ । आन्तरिक बजार निर्यात गरी वार्षिक २० अर्ब रुपैयाँ बराबरको हस्तकलाको कारोबार हुने गरेको महासंघले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्