काठमाडौँ, भदौ १९ गते । भूकम्पका कारण क्षतिग्रस्त सिंहदरबारको पश्चिम भागको प्रवलीकरण के कसरी गर्ने भन्ने बिषय अझै टुङ्गो लागेको छैन । दरबारको पश्चिम पट्टिको भागमा भूकम्पका कारण बढी क्षति पुगेको भए पनि राणाकालीन कलात्मक बेलायती शैलीको दरबार प्रबलीकरण गरेर जोगाउनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दरबारको इन्जिनियरिङ पक्षको अध्ययन गरेको छ ।

सो अध्ययन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले इन्फ्रास्टक्चर इन्जिनियरिङ रिसर्च एन्ड कन्सलट्यान्ट प्रा.लि. लाई जिम्मा दिएको छ । विगत एक महिनादेखि दरबारको सबै इन्जिनियरिङ पक्षको सूक्ष्म अध्ययन भइरहेको प्राधिकरणका सह-सचिव राजुमान मानन्धरले जानकारी दिनुभयो ।

ऐतिहासिक दरबारमा प्रयोग भएका इँट, इँटको जोडाइमा प्रयोग भएको मोटर्र तथा काठहरूको अवस्था कति छ, ती समग्रीहरू के कति बलिया छन् भन्ने विषयमा प्रयोगशालामा परीक्षण भइरहेको मानन्धरले बताउनुभयो । अबको करिब दुई साताभित्र सबै अध्ययनको प्रतिवेदन प्राप्त हुने र त्यसपछि के कति लागतमा दरबारको प्रबलीकरण हुनसक्छ भन्ने विषय टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो ।

भूकम्पका कारण क्षति भएको उक्त भाग जोगाउन प्राधिकरणले एक वर्षअघि छोप्ने काम गरेको थियो, तर त्यसले दरबारलाई संरक्षण गर्न सकेको छैन । संरक्षणको प्रयास हुँदाहुँदै पनि दरबारको कौशीमा पानी जमेका कारण दरबारभित्र पानी पसेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनःनिर्माण गर्ने बताउनुभयो । सोमबार सिंहदरबारको पश्चिम भागको निरीक्षणपछि ज्ञवालीले भन्नुभयो–“पुरातात्विक महत्वका सम्पदाहरू जोगाएर पुनःनिर्माण गर्ने कुरालाई प्राधिकरणले प्राथमिकता दिएर काम गर्छ ।”

सिंहदरबारको पश्चिम भागलाई के गर्ने भन्नेबारे अध्ययन जारी छ । अध्ययन गर्ने जिम्मेवारी लिएको कन्सलट्यान्ट फर्मलाई शीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो, “प्रतिवेदन प्राप्त भएको अर्को हप्ता निर्णय गर्छौँ र सिंहदरबार पुनःनिर्माणलाई अघि बढाउँछौं ।”

भूकम्पबाट बढी क्षति पुगेको पश्चिमी भागलाई भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भनेर स्पष्ट नभएकाले त्यसको अध्ययन गर्न इन्फ्रास्टक्चर इन्जिनियरिङ रिसर्च एन्ड कन्सलट्यान्ट प्रा.लि. लाई जिम्मा दिइएको छ । प्राधिकरणका सह-सचिव मानन्धरका अनुसार दुई हप्ताभित्रमा अध्ययन प्रतिवेदन तयार भइसक्छ ।

सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको पालामा निर्मित सिंहदरबारको वि.सं. २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो, जसको पछि पुनःनिर्माण गरियो ।

निरीक्षणमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धुव्र शर्मा, डा. हरिराम पराजुली, सह-सचिव मानन्धर लगायत हुनुहुुन्थ्यो । सरकारले गत साउन २९ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेपछि ज्ञवालीले सिंहदरबारको पश्चिम भागको अध्ययन छिटो टुङ्ग्याउन अध्ययनको जिम्मेवारी लिएको कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

यसैबीच, वि.सं. २०३० मा आगलागीबाट नष्ट भए पछि पुनःनिर्माण भएको सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको भने प्रबलीकरण सुरु भइसकेको छ । शर्मा एण्ड न्यु टेक्निकल जेभीले प्रबलीकरण सुरु गरेको करिब तीन महिना भएको छ । २४ करोड रुपियाँको लागतमा प्रबलीकरण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । रासस

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्