काठमाडौँ, २१ भदौ । ‘कालो बादल निलो आकाशमा, गयौ आमा चढेर जहाजमा फर्केउ बाकसमा।’ दाङ घर बताउने १० बर्षीय जनक गन्धर्व सारंगी रेट्दै यस्तै मार्मिक गीत गाई सबैको आँखा रसाउने गरि काठमाडौँको विभिन्न शहरमा गीत गाउँदै हिड्ने गर्छन् ।

बैशाख महिना अघिदेखि सारंगी बजाउन सिकेका उनी काठमाडौँ आएको तीन महिना भइसक्यो । दाङबाट सारंगी बजाएर गीत गाउन सुरु गरेका उनले अहिले काठमाडौँमा सार्वजनिक यातायात लगायत बिभिन्न चोक चोकमा गीत सुनाएर दैनिक जीविका चलाउदै आइरहेका छन् ।

भावुक गीत मात्र होइन उनी अहिलेका चलेका र्यापर भी टेनको गीत समेत उत्तिकै राम्रोसंग सारंगीको तालमा बजाउन सक्छन् । उनका बाबु आमा पनि सारंगी रेटेर नै जीविका चलाउदै आएका छन् । उनको परिवारमा एक भाइ र दुई दिदी पनि छन् ।

आर्थिक अभावको कारण तीन कक्षासम्म मात्र अध्ययन गरेका उनी बोर्डिंग स्कुलमा पढ्न चाहन्छन् । काठमाडौँमा नभई दाङमा कसैले सहयोग गरेमा उनी आफ्नो अध्ययनलाई निरन्तरता दिन चाहन्छन् । कलाकारितामा रुची भएका उनी भविष्यमा एक सफल कलाकार बनेर राष्ट्रको नाम उज्ज्वल पार्न चाहन्छन् ।

दैनिक ५/७ सय कमाई गरेता पनि महिनाको अन्तिममा परिवारलाई खर्च पठाउने गरेको उनले बताएका छन् ।

सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीतसंगीतको प्रभाव बढ्दै गइरहेका बेला कहिले काहीँ गाउँघरमा डुल्दै आउने र सारँगी रेटेर वीरहका भाका गाउने गन्धर्व समेत प्रायः देखिन छोडिसकेको अवस्थामा जनक गन्धर्वजस्ता बाल प्रतिभाले उचित स्थान पाउन सके सारंगी र यससँग जोडिएको संस्कृति संरक्षण र सम्वद्धन गर्न मद्दत पुग्नेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्