चितवन, सोमबार, १५ मंसिर २०७७ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् ।

रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलन्यास गर्दै उनले विगतका वर्षको भन्दाबढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताए ।

मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उल्लेख गरे । उनले भने, “सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्युतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।” उनले सन् २०२१ सँगै स्वदेशी पर्यटक निकै बढ्ने बताए । उनले भने, “यो क्षेत्र अगाडि आउँछ, विशेषगरी २०२१ मा आन्तरिक पर्यटनमा जोड गर्नेछौँ ।”

नेपालीमा मध्यम र माथिल्लो वर्गको महत्वपूर्ण हिस्सा परिवारसहित घुम्न जाने प्रचलन स्थापित भएको उनको भनाइ थियो । उनले कोरोना सङ्क्रमण घटेसँगै घुम्न नपाएर बसेका नेपालीले स्वदेशी गन्तव्यमा भ्रमण गर्ने बताए । अहिले नै महत्वपूर्ण पर्यटकीय गन्तव्यमास्वदेशी पर्यटक आउन थालेको उनको भनाइ छ ।

तत्कालै अन्तरराष्ट्रिय क्षेत्रबाट ठूलो अपेक्षा नभएको उल्लेख गर्दै उनले भने, “पर्यटकीय गन्तब्य, होटल लगायतमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।” पर्यटकले यहाँको अर्थतन्त्र चलायमान हुने र विश्वलाई चिनाउने मन्त्री भट्टराईको भनाइ थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना सङ्क्रमणका कारण श्रमबजार तहसनहस भएको बताए । उनले भने, “विदेशमा गएकाले पनि रोजगारी गुमाएर फर्कनुपर्ने अवस्था आएको छ ।”

श्रम बजारमा भएको समस्या अन्त्य गर्नका लागि नेपालमा नै सम्भावनाको खोजी गर्नु आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो । विदेशबाट रोजगार गुमाएर फर्किएकालाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्