काठमाडौं, १५ कात्तिक २०७६ । नेपाली कांग्रेसका सन्तनेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई ‘किशुनजी’का बारेमा धेरैलाई जानकारी नहुन सक्छ । स्वर्गीय भट्टराईले कहिल्यै पनि आफ्नो आदर्शन र पार्टीको सिद्धान्तलाई उल्लंघन गर्नुभएन ।

भट्टराई प्रधानमन्त्री भएका बेलामा पनि आफ्नो जुत्तामा आफैले पालिस लगाउने गर्थे । आफ्नो जुत्तामा कसैलाई पनि पालिस लगाउन दिँदैन थिए ।

शनिबारको दिन कतै जानु परेमा भट्टराईले सरकारी गाडी र सुरक्षा निकाय छोडेर ट्याक्सीको प्रयोग गर्ने गरेको उनी निकटका नेताहरू बताउँछन् ।

बिदाको दिन राजाले बोलाउँदा पनि कहिले काहीँ भट्टराई भेट्न दरबार जाने गर्थे । भट्टराईले कहिले त सरकार आज बिदाको दिन हो भोलि भेटौला भनेर राजालाई जानकारी गराउँथे ।

ठूलाबडाले घुस खाए भ्रष्टाचार गरे विरोध गर्ने पूर्वप्रधानमन्त्री भट्टराईले साना कर्मचारीहरू खरिदार मुखियाले १०–२० रुपिया घुस खानु अपराध होइन भन्ने गर्थे ।भट्टराईबाट कसैले आफ्नो काम गराउन लोभ देखाउने सम्भावना नै थिएन ।

प्रधानमन्त्री हुनु पहिले भट्टराई कुपोण्डोलस्थित आफ्नो भाञ्जाकी घरमा बस्दै आएका थिए । प्रधानमन्त्री भएर बालुवाटारमा जाँदा भट्टराईले भागवत गीताको पुस्तक, एउटा छाता, सानो टिनको बाक्सा र पानी पिउने माटोको सुरही लिएर गएको नेपाली कांग्रेसका नेताहरूले बताएका छन् ।

प्रधानमन्त्रीको पदबाट हटेपछि पनि त्यै मात्र लिएर भट्टराई पुनः भाञ्जाको घरमा नै फर्किएका थिए ।

बिक्रम संवत २०१५ सालमा देशको पहिलो सभामुख भएका भट्टराई करीव दुई दशक जति देशको प्रमुख पार्टी नेपाली कांग्रेसको सभापति भएका थिए । उनी २ पटक प्रधानमन्त्री भएका थिए ।

भट्टराईको कुनै पनि बैंकमा खाता थिएन् । उनको नाममा एक आना जमीनको लालपुर्जा पनि थिएन । अरु सम्पत्ति हुने त कुरै भएन ।

‘तर, भट्टराई जति खुसी, हँसिलो र रसिलो नेता हामीले अहिलेसम्म देखिए जस्तो लाग्दैन’, नेपाली कांग्रेसका एक नेताले बताउँछन् ।

जीवनको अन्तिम समयमा सरकारले ललितपुरको बाडेगाउँमा बनाइदिएको आश्रममा पूर्वप्रधानमन्त्री भट्टराई बसेका थिए । बाडेगाउँको आश्रम अहिले सुनसान छ । त्यसको संरक्षण र सुरक्षामा कसैको ध्यान पुग्न सकेको छैन ।