रामेछाप, २६ कात्तिक २०७६ । मंसिर १४ मा हुने स्थानीय निकायको उपनिर्वाचनका लागि पार्टीले वडाध्यक्षको टिकट नदिएको भन्दै सत्तारुढ नेकपाबाट वडाध्यक्षका दुई जना दाबेदार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जिल्लाको उमाकुण्ड गाउपालिका–५ प्रितिका पदम बहादुर तमाङ र चित्र बहादुर तमाङ सोमबार कांग्रेसमा प्रवेश गरेका हुन् ।

वडाध्यक्षका लागि मंसिर १४ गते हुने उपनिर्वाचन नेकपाले टिकट नदिएको भन्दै उनीहरु नेपाली कांगे्रसमा प्रवेश गरेका हुन् । दुबैलाई गाउँ इकाइ कमिटीले वडाध्यक्षका उम्मेदवारका लागि सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको थियो ।

नेकपा जिल्ला कमिटीले वडाध्यक्षमा कुलबहादुर बस्नेतको नाम सिफारिश गरेपछि असन्तुष्ट रहेका वडाध्यक्षको टिकट दाबी गरि रहेका २ जना तमाङसहित १० जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रामेछापले जनाएको छ ।

‘तत्कालिन एमालेका नाममा १५ वर्ष ठूलै संघर्ष गरियो तर पार्टीले मूल्यांकन नगरेकोले अबको राजनीतिक यात्रा कांग्रेसमा रहेर अघि बढाउने निर्णयसहित कांग्रेसमा प्रवेश गरें’ पदम बहादुरले भने। उक्त वडामा नेपाली कांग्रेसले भने सावित्री सुनुवारलाई वडाध्यक्षमा टिकट दिएको छ।

नेपाली कांग्रेस रामेछापका पार्टी सभापति लवश्री न्याैपानेले कांग्रेसकाे सर्वसम्मतिबाट सावित्री सुनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

सभापति न्याैपानेले भने- ‘उम्मेदवार घाेषणासँगै पार्टीले निर्वाचनमा उनलाई जिताउन प्रचारप्रसार पनि थालिसक्याे । निर्वाचन आचार संहितभित्र रहेर उनकाे लागि मत माग्न जनताकाे घरदैलाे पुगिसकेका छाैं । हामीले महिलालाई प्राथमिकता दिएका छाैं । उनी उक्त वडाकाे चिरपरिचित र लाेकप्रिय तथा सबैकाे मन-मनमा बसेकी नेतृ भएकीले कांगेसले जित्ने सु-निश्चित छ । नेकपाबाट वडाअध्यक्षकै उम्मेदवार दाबी गरेकाहरू नै हाम्राे पार्टीमा प्रवेश गरेका छन् । अझै प्रवेशकाे तयारीमा छन् । त्यसकारण हामी अध्याधिक मतले चुनाव जित्छाैं, हामी ढुक्क छाैं ।’

सो वडामा यस अघि एमालेबाट निर्वाचित वडाध्यक्ष कुबेर खत्री कोसीमा हामफालेर आत्महत्या गरेका कारण पुनः निर्वाचन हुन लागेको हो।