काठमाडौँ, असार २९, २०७५

आज शुक्रबारबाट हलहरुमा ४ नयाँ फिल्म प्रदर्शनमा आएका छन् । विगत ३ हप्तादेखि सुनसान नेपाली सिनेबजार शुक्रबारबाट पुनः गर्माएको हो ।

विश्वकप फुटबल २०१८ तथा बलिउड फिल्म रेस ३ र सञ्जुको प्रत्यक्ष प्रभावका कारण फिल्म प्रदर्शन गर्न पछि हटेका निर्माता तथा निर्देशकहरु शुक्रबारबाट भने सक्रिए देखिएका हुन् । शुक्रबारबाट फिल्म विराङ्गना, बोबी, बाबु कान्छा र यो पागल मन गरी ४ फिल्म देशैभर एक साथ प्रदर्शनमा आएका छन् ।

एकै दिनमा ४-४ वटा फिल्म प्रदर्शनमा आँउदा नेपाली फिल्म बजारमा पर्ने असरका सम्बन्धमा भने सोचिएको पाइँदैन । एकैदिन धेरै फिल्म हलमा लाग्दा सानो फिल्म बजार रहेको हाम्रोजस्तो देशमा एकातिर दर्शकको अभाव तथा अर्कातिर फिल्महरुले प्रदर्शनका लागि हल र स्क्रिन पाउनै मुश्किल हुने गरेको छ, तर प्रदर्शनमा आएका ४ मध्ये दर्शकको रोजाइमा कुन फिल्म पर्ने त्यसका लागि भने केही दिन कुर्नैपर्ने हुन्छ ।

शुक्रबारबाट प्रदर्शनमा आएका फिल्महरुः

विराङ्गना

नारीप्रधान फिल्म ‘विराङ्गना’ विरताको कथावस्तुमा निर्माण गरिएको फिल्म हो । सशस्त्र प्रहरीको जीवनगाथा र महिलाहरुले देखाउने विरतामाथि केन्द्रित रहँदै फिल्म तयार गरिएको फिल्मका निर्देशक राजबाबु साने बताउँछन् ।

फिल्ममा शिल्पा पोखरेल र अनुप विक्रम शाही मुख्य पात्रको रुपमा सशस्त्र प्रहरीको भूमिकामा देखिँदै छन् । शिल्पाको ‘एक्सन’ अन्दाज यस फिल्ममा पनि देख्न सकिने निर्देशक सानेले जानकारी दिए । शिल्पा र अनुपका साथमा फिल्ममा पृथ्विराज प्रसाईं, प्रज्वल गिरि, प्रिया रिजाल, कृष्ण शिवाकोटी लगायतको अभिनय रहेको छ ।

निर्माण पक्षका अनुसार ‘विराङ्गना’ले शुक्रबार देशभरका ८० स्क्रिनमा प्रदर्शनको मौका पाएको छ । उपत्यका र काभ्रेमा मात्रै ८ मल्टिप्लेक्ससहित २१ हलमा फिल्म प्रदर्शनमा आउँदै छ ।

बोबी

वास्तविक प्रेम कथामा निर्माण भएको फिल्म ‘बोबी’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ । ललितपुरका उमेश थापा र पोखराकी कविता गुरुङको २० वर्षअघिको वास्तविक प्रेम कथालाई स्क्रिनिङ गरिएको छ । थापा र गुरुङ दुवैले आफ्नो कथामा आँफै अभिनय गरेका छन् । फिल्मको बुधबार साँझ प्रिमियरसमेत गरिएको थियो ।

नर्वे र नेपालका विभिन्न स्थानमा छायांकन गरिएको ‘बोबी’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने फिल्मको पटकथा नरेश भट्टराई र गिरिराज घिमिरेले तयार गरेका हुन् । फिल्ममा उमेश र कवितासहित विजय लामा, रुवी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, सुरविर पण्डित लगायतको अभिनय रहेको छ ।

फिल्मले देशभरका मल्टीप्लेक्स हलहरुमा ४० सो प्राप्त गरेको छ । उपत्यकामा १८ र उपत्यका बाहिर २२ सो प्राप्त गरेको निर्देशक चाम्सले नेपाल लाइभलाई बताए। चाम्सका अनुसार फिल्म यो हप्ता मल्टीप्लेक्स हलहरुमा र अर्को हप्तादेखि मात्रै सिङगल थिएटरमा प्रदर्शनमा आउने छ ।

बाबु कान्छा

सलोन बस्नेत र करिस्मा श्रेष्ठ अभिनित फिल्म ‘बाबु कान्छा’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ । सलोनको बाल्यकालको कथावस्तुसँग जोडेर तयार पारिएको बाबु कान्छामा शोभित बस्नेतको लेखन, निर्देशन तथा निर्माण रहेको छ ।

प्रेम र एक्सनका दृष्य समावेश फिल्ममा सलोन, करिष्मासँगै सरोज खनाल, रितिक साह, निर साहलगायतको अभिनय देख्न सकिन्छ ।

यो पागल मन

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘यो पागल मन’ पनि आजैबाट प्रदर्शनमा आएको छ । फिल्ममा विनोद न्यौपाने र ऋचा सिंह ठकुरीको मुख्य अभिनय रहेको छ ।

लामो समयदेखि प्रि तथा पोस्ट प्रोडक्सनमा रहेको फिल्ममा न्यौपानेको डेव्यु अभिनय हो भने ठकुरी ५ वर्षपछि पर्दामा देखिँदै छिन् । फिल्ममा विनोद, ऋचासँगै गौरी मल्ल, राजेश मल्ल लगायतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको यस फिल्मलाई कल्याण अधिकारीले निमार्ण तथा निर्देशन गरेका हुन् ।

प्रचारप्रसारमा केही पछि परेको फिल्म ‘यो पागल मन’ ले शुक्रबार उपत्यकामा ७ वटा हलहरुमा २-२ शो र उपत्यका बाहिर १२ वटा हलमा १ शो मात्र पाएको छ ।

फिल्मले कम शो पाएकोमा निर्देशक अधिकारी केही रुष्ट देखिएका छन् । आफुले अन्य ३ फिल्मभन्दा अघि नै प्रदर्शन मिति तय गरेपनि त्यसपछि अन्य फिल्महरुले सोही मिति तय गर्नाले आफुसहित सिंगो फिल्म क्षेत्रमा नकारात्मक असर परेको तर्क गरेका छन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्