एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत अाइतबार लेभान्तेले बार्सिलोनालाई ५-४ ले पराजित गर्दै लिगको इतिहासमा अपराजित रहँदै लिग जित्ने कीर्तिमान रच्ने सुरमा रहेको बार्सिलोनाको प्रयास पनि समाप्त पारिदिएको छ । ३६ खेलसम्म अपराजित बार्सिलोना ३७ औं खेलमा पराजित हुँदा आफ्नो सिजनमै अपराजित रहने कीर्तिमान  भने लेखाउन सकेन ।

घरेलु टोली लेभान्तेले नवौं मिनेटमा एम्यानुएल बोटेङको गोलमा अग्रता लिएको थियो । बोटेङले अाधा घण्टा नबित्दै अग्रता दोब्बर पारे ‌। फिलिप कोउटिन्होले बार्सिलोनाको लागि पहिलो हाफको अन्तिममा गोल गर्दै खेलमा फर्कने संकेत देखाए ।

तर दोस्रो हाफको पहिलो मिनेटमा एनिस बार्ढिले दुई गोलको अग्रता कायम गरे ‌। तीन मिनेटपछि बोटेङले ह्याट्रिक पुरा गर्दै लेभान्तेलाई ४-१ ले अघि राखे । ५६ हौं मिनेटमा बार्ढिकै गोलमा लेभान्तेले ५-१ को अग्रता बनायो । त्यसपछि कोउटिन्होले ५९ अौं र ६४ अौं मिनेटमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । लुइस सुअारेजले ७१ अौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अन्तर १ गोलमा झारे ।  थप गोल गर्न नसक्दा बार्सिलोना लिगको पहिलो हार बेहोर्न बाध्य भयो । निकै विवादित रहेको खेलमा अाधा दर्जन पहेलो कार्डको प्रयोग भएकाे थियाे ।  यस खेलमा लियोनेल मेस्सीलाई भने विश्राम दिइएकाे थियो ।

यो खेलपछि उपाधी जितिसकेको बार्सिलोनाको ३७ खेलबाट ९० अंक छ । १५ औं स्थानमा रहेको लेभान्तेको ४६ अंक छ । दोस्रो स्थानका लागि अन्तिम खेल नै निर्णायक हुने भएको छ । एथ्लेटिको मड्रिडको ७८ र रियाल मड्रिडको ७५ अंक छ ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्