लमजुङ, शनिबार, २० असार २०७७ । लमजुङमा शनिबारदेखि लकडाउनलाई थप कडाई गरिएको छ । जुनसुकै समय सञ्चालन हुँदै आएको जिल्लाभित्रका पसलहरु अब दैनिक ५ घण्टा मात्र खुला गरिएकोे छ । लमजुङमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना जोखिम रहेको भन्दै प्रशासनले लकडाउनलाई कडाई गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका पसलहरु विहान ५ बजे देखि मध्यान्ह १२ बजे सम्म मात्र खुला गरिएको छ । संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले अत्यावश्यक सेवा बाहेकका सबै पसलहरु विहान ५ बजे देखि मध्यान्ह १२ बजे सम्म खोल्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

अत्यावश्यक सेवा बाहेकका सबै खाले पसलहरुलाई समय तालिका दिएर तोकिएको समयमा पसल खोल्ने निर्णय गरिएको हो । संकट व्यवस्थापन केन्द्र लमजुङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाई गरेको हो । पेशा व्यवसाय संचालन गर्दा स्वास्थ्य÷ सुरक्षाका प्रोटोकललाई अनिवार्य रुपमा पालना गर्ने÷गराउने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।

जिल्लाको प्रवेश नाका पाउँदीबाट खाद्यान्न तथा मालबाहक सवारीहरुलाई विहान १० बजे भित्र र अपरान्ह ४ बजे पछि मात्रै प्रवेश अनुमति दिने निर्णय गरिएको छ । अत्यावश्यक कामका लागि सवारी अनुमति दिइएका बाहेक अन्य सवारी साधनहरु सञ्चालन गर्न नदिने र जिल्लामा सञ्चालन हुने सवारीलाई जोर विजोर प्रणाली कडाइका साथ लागू गर्ने निर्णय गरिएको छ ।

अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन, हिँड्डुल नगर्न र भिडभाड नगर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्