काठमाडौँ , २२ असोज २०७६ । राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सी दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते नेपाल आउने छन् ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नेछिन् ।

त्यस्तै, राष्ट्रपति सीको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वीपक्षीय औपचारिक वार्ता गर्ने तथा दुबै नेताको उपस्थितिमा दुई देशबीच केही द्वीपक्षीय सम्झौता तथा समझदारीपत्रहरूमा हस्ताक्षर हुने कार्यक्रम रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने पुर्व निर्धारित कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।