काठमाडौं, १५ फागुन २०७६ । सवारी दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनालीसहित सबै घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई बिहीबार अपरान्ह काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका उनीहरुको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

बिहीबार बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो ।

दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाईते भएका छन् ।

दुर्घटनामा सीपी मैनाली र बुहारी पुजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिए ।

मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

उनीहरुको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा थप उपचार हुने बताइएको छ ।