पाल्पा, ११ पौष २०७६ । पाल्पामा पर्यटकको आवागमन बढेको छ । रानीमहल, श्रीनगर भ्यू टावर, तालपोखरा, काउलेडाँडाको अम्रिसो र मदनपोखराको व्यावसायिक कृषि अवलोकनका लागि मानिसहरु आउनेक्रम बढेको हो ।

पाल्पाका यी महत्वपूर्ण सम्पदाले आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षण बढाएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको र बसाई अवधि लम्ब्याउनका लागि पूर्वाधार निर्माण र अन्य तयारी पनि भइरहेको बताउनुभयो ।

पाल्पा प्रकृति र सँस्कृतिले धनी छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक र साँस्कृतिक महत्वका पहिचानले भरिएको पाल्पामा पर्यटकको संख्या सोचेजति भने अझै बढाउन नसकिएको स्थानीय सरकारहरुको भनाइ छ । भएका सम्पदाहरुको प्रचारप्रसारमा जोड दिइएको  उनीहरु बताउँछन् ।

प्रदेश नं ५ को केन्द्र बुटवल र गण्डकी प्रदेशको मुकाम पोखरा पुग्ने पर्यटक राजमार्ग भएर पाल्पा पस्ने गरेका छन् । यहाँको सुन्दर स्थल अवलोकनपछि स्याङ्जा हुँदै पोखरा पुग्दछन् ।

जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख मिरा मरासिनीले भ्रमण वर्ष सफल बनाउन जिल्ला स्तरीय समिति बनाएर स्थानीय तहसम्म विभिन्न कार्यक्रमहरु गर्ने तयारी गरिरहेको बताउनुभयो ।

नेपालको ताजमहलका रूपमा परिचित रानीमहल, पाल्पा दरबार संग्रहालय, विजयको प्रतीक भगवती मन्दिर, श्रीनगरडाँडा, अमरनारायण मन्दिर, रुरुक्षेत्र र ऋषिकेश मन्दिर तानसेनका घुम्नैपर्ने महत्वपूर्ण क्षेत्र हुन् ।

एशियामै ठूलो त्रिशुल रहेको भैरवस्थान मन्दिर र सेनकालीन स्मारक रिब्दीकोट जलेश्वर क्षेत्रपनि पाल्पामै पर्छ । जसले तीर्थयात्री र अनुसन्धानकर्ताकोे ध्यान तानेको छ ।

नुवाकोट गढी, बल्ढेङगढी, माथागढी र बाकुमगढी अभेद्य किल्लाका रुपमा रहेका छन् । कौडेलेक, रिमिघालेक, हात्तिलेक, सहलकोटको जुरेलगायतका अग्गा शिखरहरु पाल्पाका सौन्दर्यविन्दु बनेर उभिएका छन् ।

झिरुबासको काउले वन र अम्रिसो खेती, मदनपोखराको तरकारी खेती, अर्गलीको सिँचाई प्रणालीले उत्पादकत्व वृद्धिका माध्यम बनेर विकासे यात्री तानिरहेका छन् । कालीगण्डकी नदी, रामपुरको तालपोखरा, सुकेतालले जल सम्पदाको अजस्र स्रोत बनेर सघाइरहेका छन् ।

बराङ्दीको शिवासन, ताहुँको रम्भापानी मन्दिर, माडीको माण्डव्य सभ्यताले मानिसहरुलाई वशीभूत पारिरहेका छन् । परम्परागत कुडुलेघर र मारुनी, झाम्रे, वालन, लाखे जस्ता सँस्कृतिका अनुपम अभ्यासले पनि पाल्पामा पर्यटक भित्र्याउन सघाइरहेको छ ।

जिल्ला सदरमुकाम रहेको तानसेन नगरपालिकासहित १० वटै स्थानीय तहको ध्यान भ्रमण वर्ष २०२० को कार्यक्रम प्रभावकारी बनाउनेतर्फ छ । पाल्पालीले आफ्नो कला, सँस्कृति र सभ्यतालाई अझ आलोकित पारेर भ्रमण वर्ष २०२० लाई सफल बनाउन लागिपरेका छन् । CIN