भैरहवा, ८ फागुन २०७६ । सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी गरेपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

लुम्बिनीलाई प्राथमिकतामा राखेर बौद्ध सम्मेलन गर्नुले यहाँको पर्यटन व्यवसायमा मात्र नभई बृहत्तर लुम्बिनी विकासको योजना अघि बढाउन पनि सहयोग पुग्ने व्यवसायीको भनाइ छ ।

“बौद्ध सम्मेलनले अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको प्रचार हुनुका साथै पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्छ, त्यसैले पनि सरकारले गरेको निर्णय स्वागतयोग्य छ”– लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले भन्नुभयो ।

सरकारले बुद्ध जयन्ती अर्थात् वैशाख शुक्ल पूर्णिमाको अवसर पारेर हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ । यस पटकको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वानकी मुनसहित २१ वटा राष्ट्रका प्रतिनिधिलाई बोलाउने सरकारको तयारी छ । लुम्बिनीमा तेस्रोपटक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुन लागेको हो । लुम्बिनीलाई सरकारले प्राथमिकतामा राखेको भन्दै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले बौद्ध सम्मेलन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने पनि बताएका छन् । सिद्धार्थ होटेल एसोसिएसनका उपाध्यक्ष मेघनाथ आचार्यले बौद्ध सम्मेलनलाई स्थानीय स्तरबाट सहयोग गरिने बताउनुभयो । “बौद्ध सम्मेलनमा आउने अन्तर्राष्ट्रिय पाहुनाका कारण लुम्बिनीको विश्वव्यापी प्रचार हुन्छ, यसले गर्दा लुम्बिनीमा पर्यटक बढ्छन् र पर्यटन व्यवसाय फस्टाउँछ, त्यसैले बौद्ध सम्मेलन सफल पार्नुपर्छ”–उहाँले भन्नुभयो ।

बौद्ध सम्मेलनले लुम्बिनीको प्रचारप्रसारमा सघाउ पुगे पनि पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने व्यवसायीको भनाइ छ । गौतम बुद्ध र मायादेवीका प्राचीन, ऐतिहासिक कथा तथा बुद्धका सन्देशसमेतलाई समेटेर वृत्तचित्र तयार गरी लुम्बिनी क्षेत्रमा यसको नियमित प्रदर्शन तथा प्रचारप्रसार गर्ने हो भने पर्यटकको बसाइ अवधि लम्बिन सक्ने संस्कृतिविद् गितु गिरीले बताउनुभयो ।

“अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आएका पाहुनाले आ–आफ्नो देशमा प्रचार त गर्छन् तर ती देशहरूबाट लुम्बिनी आउने पर्यटकहरू उपयुक्त कार्यक्रम नहुँदा धेरैबेर टिक्दैनन्, त्यसले बौद्ध सम्मेलन सँगसँगै यस कुरामा पनि ध्यान दिनुपर्छ”– उहाँले भन्नुभयो ।

यद्यपि सङ्घीय सरकारको लुम्बिनीप्रतिको चासो र प्राथमिकताले अब लुम्बिनीको विकासमा आशा भने पलाएको लुम्बिनीका होटल व्यवसायी अक्रम खानले बताउनुभयो । “यस वर्ष बौद्ध सम्मेलन हुने खबर सुन्दा उत्साह जागेको छ”–उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिलान्यास गरिएको पाँच हजार व्यक्ति क्षमताको सभाहलमा हुनेछ । उक्त सभाहल निर्माणको अन्तिम चरणमा पुगेको छ । लुम्बिनीका होटल एसोसिएसनका अध्यक्ष मिथुनमान श्रेष्ठले लुम्बिनी आउने पाहुनाका लागि होटलमा स्थान अभाव हुन नदिइने बताउनुभयो । लुम्बिनीमा विहारले पनि व्यापार गरिरहेकाले सरकारले यसलाई भने नियन्त्रण गर्नुपर्ने उहाँको माग छ । गोरखापत्र