बेलायत, २२ कात्तिक २०७६ । बेलायत । ब्रिटिश गोर्खा सैनिकमाथि भएको विभेद विरुद्धको आन्दोलनमा सशक्त योगदान दिएकी बेलायतका चर्चित अभिनेत्री जोआना लुम्ली नेपालका लागि पर्यटन सद्भावना दूतको रुपमा सम्मानित भएकी छन् ।

हाउस अफ लर्डस्मा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अभिनेत्री जोआनालाई पर्यटन सद्भावना दूतको सम्मान प्रदान गरेका हुन् ।

सोही अवसरमा सांसद व्यारोना भेर्मा, व्यवसायी गोपिचन्दा हिन्दुजालाई पनि पर्यटन सद्भावना दूतको सम्मान प्रदान गरेका छन् । पर्यटन वर्ष २०२० का लागि पर्यटनमन्त्री भट्टराईले विश्वभरबाट नेपाल भ्रमण गर्न आव्हान समेत गरेका छन् ।

नेपाल सरकारले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न अहिले पर्यटनमन्त्री भट्टराई स्वयम सक्रिय रुपमा लागेका छन् ।