काठमाडौ, १३ भाद्र २०७५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा सदस्य मुलुकहरुबाट उच्च अधिकारीहरु काठमाडौं आउने क्रम जारी रहेको छ । भोली बिहिबार र पर्सी शुक्रवार काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि भीआइपीहरुको आगमन सुरु भएको छ ।

सबै सदस्य मुलुकका परराष्ट्र सचिवसहितका उच्च अधिकारीहरु सोमवार नै काठमाडौं आइपुग्नु भएको हो । हिँजै परराष्ट्र मन्त्रीहरु आइपुगेका थिए । उच्च अधिकारीहरुको १९ औं बैठक होटल सोल्टीमा चलिरहेको छ ।

आज मन्त्री स्तरीय बैठक जारी छ । सबै देशका विदेशमन्त्रीहरु हिँजै साँझसम्म काठमाडौं आइपुगेका थिए । हिजो विदेशमन्त्रीहरुको सम्मानमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रात्रीभोजको आयोजना गर्नुभएको थियो । म्यानमारका राष्ट्रपति हिजो नै आइसक्नु भएको छ । विम्स्टेक सम्मेलनमा सहभागी हुनका लागि म्यानमारका राष्ट्रपति विन मिन्ट धर्मपत्नीसहित काठमाडौ आएका हुन् । उनी हिँजो दिउसो २ः४५ बजे काठमाडौंमा उत्रिनु भएको थियो ।

त्यस्तै आज बुधवार भुटानका प्रधानन्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक पनि काठमाडौं आइसक्नु भएको छ । उनी भुटानको राष्ट्रिय ध्वजावहाकबाट विहान ८ बजे काठमाडौं ओर्लिनु भएको थियो ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल श्रीसेना काठमाडौं अवतरण भएका छन् । उनी सवार विमान दिउसो २ः३५ मा काठमाडौंमा अवतरण भएको थियो । त्यस्तै थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान पनि बुधबार नै नेपाल आएका छन् । उनी आजै १०ः१५ बजे काठमाडौं ओर्लिने छन् ।

त्यस्तै सम्मेलनको दिन भोली भदौ १४ गते बिहीवार विहान ८ः३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं ओर्लिने कार्यक्रम रहेको छ । उहापछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिहान ९ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् ।

त्यसैगरी विम्स्टेक सम्मेलनका लागि भीभीआईपीको आगमनलाई ध्यानमा राखी त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । साथै विमानस्थलमा प्रवेशमा समेत कडाई गरिएको छ ।  विमानस्थल प्रशासनले विमानस्थलमा हवाईयात्रुबाहेकलाई प्रवेशमा रोक लगाएको छ ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै यात्रु स्वयम् सक्षम भएको अवस्थामा सहयोगी लैजान रोक लगाइएको जनाएका छन् । त्यस्तै, विरामी तथा अशक्तको हकमा एक जना सहयोगीबाहेक अरुलाई प्रवेश रोक लगाइएको छ। रिङरोडबाट विमानस्थलको प्रवेश मुलद्वारा (गोल्डेन गेट) चेकिङबाट यात्रुवाहेक अरुलाई फर्काइने छ ।

अशक्त तथा विरामीलाई लिएर विमानस्थल प्रवेश गरेका सहयोगी यात्रु डिपार्चरतर्फ प्रवेश गरेको १५ मिनेटभित्र विमानस्थलबाट बाहिरिसक्नु पर्ने छ ।

त्यसैगरी विमानस्थलमा भाडाका ट्याक्सीलाईसमेत प्रवेशमा रोक लगाइएको छ । विमानस्थल पास भएका तथा यात्रु लिइ गएका सवारी साधनलाई मात्र विमानस्थल प्रवेशको अनुमति दिइने छ । यात्रु लिइ विमानस्थल भित्र प्रवेश गर्ने सवारी साधनलाई विमानस्थलमा भित्र रोक्न निषेध गरिएको छ । विमानस्थलभित्र यात्रु र समान ओरालेसँगै पार्किङ स्थलमा प्रवेश नगरी विमानस्थलबाट बाहिरिन विमानस्थलले अनुरोध गरेको छ । त्यस्तै, यात्रु लिन जाने होटल तथा अन्य सवारी साधनलाई विमान अवतरणको १० मिनेट अगाडि मात्र विमानस्थल प्रवेश दिइने छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्