काठमाडौँ, १२ भदौ, २०७५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तिनकुनेतर्फ लाग्दा दुईवटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्बिरसहितको कलात्मक आकर्षक द्वार बनाइएको छ ।

जहाँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका राष्ट्रप्रमुख र सरकारप्रमुखको तस्बिर राखिएको छ । दोस्रो द्वारमा बौद्धनाथ स्तूपको कलात्मक गजुरसहितको बिमस्टेक राष्ट्रका झन्डाले सजाइएको छ । ती द्वारमा लेखिएको छ– बुद्धको जन्मभूमि नेपालमा स्वागत छ अर्थात् ‘वेलकम टु दी कन्ट्री अफ गौतमबुद्ध’ । यस्तै, अर्को द्वारमा लेखिएको छ, ‘सगरमाथाको भूमिमा स्वागत छ ।’

कतै विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्बिर राखिएको छ भने कतै डाँफे, मुनाल र हिमाली क्षेत्रको आकर्षक तस्बिर राखिएको छ । नेपालको विभिन्न क्षेत्रको कला तथा संस्कृति झल्कने तस्बिरले सजाएर राजधानीलाई चिटिक्क बनाइएको छ । सांस्कृतिक नगरी काठमाडौंमा सजाइएका यी र यस्ता दृश्यले आदिकवि भानुभक्त आचार्यकै शब्दमा जस्तै काठमाडौं ‘अलकापुरी नगरी’जस्तै बनेको छ ।

यस प्रकारको रङरोगन र स्वागतद्वार निर्माण गर्ने संयोग जुटाइदिएको हो बहुक्षेत्रीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बंगालको खाडीको सहयोग (बिम्स्टेक) चौथो शिखर सम्मेलनले । सम्मेलन आउन एक दिन बाँकी रहँदा काठमाडौंका मुख्य सडक रंगीचंगी ध्वजा तथा आकर्षक होर्डिङ बोर्डले राजधानीको सौन्दर्य मात्रै बढाइदिएको छैन, थप रौनकता पनि बढाइदिएको छ ।

बिमस्टेकको औपचारिक उद्घाटनस्थल सोल्टी होटेलदेखि पहुनाको स्वागतका लागि आयोजना हुने रात्रिभोज हुने हायात होटेलसम्मको सडकलाई तन्दुरुस्त बनाइएको छ । विमानस्थलबाट तिनकुने आइपुग्दा नेपालको कला, संस्कृति, पुरातात्विक सम्पदा, राष्ट्रिय जनवार, पक्षी आदि झल्कने तस्बिरले सजाइएको छ । पोखराको फेवाताल, डोल्पाको से–फोक्सुण्डो तालदेखि नेपालका प्रसिद्ध मठ, मन्दिर, पर्यटकीय क्षेत्रको सचित्र झल्काइएको छ ।

नयाँ बानेश्वर हुँदै माइतीघर क्षेत्रमा सडक मर्मत गरिएको छ । जताततै झन्डा फहराइएका छन् । माइतीघर मण्डलाको रङरोगन गरी मण्डलालाई बेहुलीझैँ सिँगारिएको छ । झिलिमिली बत्तीको व्यवस्था गरिएको छ । महाराजगञ्जस्थित नारायणगोपाल चोक, राष्ट्रपति कार्यालयनजिक, कान्तिपथ, थापाथली, कालिमाटी, सोल्टीमोड, कलंकीलगायत स्थानमा आकर्षक द्वार बनाइएको छ ।

पाहुनाको स्वागतका लागि सडक सरसफाइ, मर्मत आदिको काम सकिएको छ । सडकको खाल्डाखुल्डी पुरी रङरोगन गरिएको छ । बुद्धको जन्मभूमि, सगरमाथाको देश, बिमस्टेक शान्ति, समृद्धि र विकासका लागि, बिमस्टेका विशिष्ट पाहुनालाई स्वागतजस्ता नारा द्वारमा लेखिएका छन् । त्यसले सदस्य राष्ट्रबीचको मैत्री सम्बन्ध सुमधुर र जनस्तरको रहेको स्पष्ट गर्दछ ।

अन्ठाउन्न स्वागतद्वार

बिमस्टेक पाहुनाको स्वागतार्थ काठमाडौंका विभिन्न स्थानमा ५८ वटा स्वागतद्वार बनाइएको छ । नेपालको कला, संस्कृति झल्कने तस्बिर तथा बिमस्टेक राष्ट्रप्रमुखको तस्बिर राखिएको छ ।

पाँच मिटर अग्ला कलात्मक द्वारमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा विशिष्ट पाहुनाको तस्बिर राखिएको छ । शुरुमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार लन्प्यो छिरिङ वाङ्चु, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चाको तस्बिर सजाइएको छ ।

यस्तै ती देशका झन्डासमेत क्रमैसँग राखिएको छ । शहरी विकास मन्त्रालयले तयार पारेको डिजाइनअनुसार काठमाडौं महानगरपालिकासहित अन्य सरकारी तथा निजी संघसंस्थाको सहयोगमा ती स्वागतद्वार बनाइएको हो ।

पाहुनाको स्वागतका लागि रङरोगन र सरसफाइको जिम्मा लिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । फोहोर व्यवस्थापन, रङरोगन तथा तस्बिर सजावटलगायतका काम सकिएको र केही बाँकी भए त्योसमेत मंगलबार बिहानसम्म पूरा हुने उनको भनाइ छ ।

तिनकुनेमा झाँकी

शिखर सम्मेलनमा आउने विशिष्ट पाहुनाको स्वागतका लागि महानगरपालिकाले तिनकुनेमा नेपालको कलात्मक संस्कृति झल्कने झाँकी प्रस्तुत गर्ने तयारी गरेको छ । त्यसका लागि तिनकुनेको तीनवटै कुनामा मञ्च निर्माण गरिएको छ ।

काठमाडौं उपत्यकाको परम्परागत नेवारी संस्कृति झल्कने झाँकी प्रस्तुत गरिनेछ । त्यसका अलावा नेपालको विभिन्न जातजातिको पहिचान झल्कने झाँकीसमेत देखाइने प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

सुरक्षाको पूर्ण तयारी : गृह मन्त्रालय

शिखर सम्मेलनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राखेर गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले ‘अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७०’ अनुसार सुरक्षा योजना तयार पारी लागू गरिएको जानकारी दिए । विमानस्थलदेखि, निवास र भ्रमण गर्ने स्थलको सुरक्षा व्यवस्था गरिएको छ ।

सम्मेलनमा आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवासस्थल पुऱ्याउन आजै पूर्वअभ्याससमेत गरियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा पूर्वअभ्यास गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले सरकारले निर्धारण गरेअनुसार विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्