बागलुङ, सोमबार, ५ भाद्र २०७७ । बागलुङ जिल्ला केही उपनामले परिचित छ । झुलुङ्गे पुलको जिल्ला, नेपाल भित्रको नेपाल र बुट्टेनलीमा प्रख्यात आदि । बागलुङका नदी, खोला मात्र होइन खोल्साखोल्सीमा पनि धेरै झुलुङ्गे पुल छन् । यसकारण यस जिल्लालाई झोलुङ्गे पुलको जिल्लाका उपनामले पनि चिनिन्छ ।

बागलुङ जिल्लामा हाल सम्म ४१४ झुलुङ्गे पुल छन् भने अझै ३१ ओटा पुल निर्माणको चरणमा रहेको बागलुङमा झोलुङ्गे पुलको तथ्याङ्क तथा मर्मत सम्भार गर्दै आइरहेको बिवाइसी बागलुङका झुलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिनुभयो ।

तर पछिल्लो समय ठूला नदी र खोँचमा समेत झुलुङ्गे पुल निर्माणले गति लिएसँगै बागलुङ झुलुङ्गे पुल मात्र होइन लामा र अग्ला पुलहरुको जिल्लाका रुपमा समेत परिचित हुन थालेको छ । बागलुङ र पर्वत जिल्लाको बीच भएर बगेको कालीगण्डकी नदीमाथि हाल यी दुई जिल्लालाई जोड्ने गरी धमाधम लामा पुल निर्माण भएरहेका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका-१ अदुवाबारी जोड्ने हालैमात्र सञ्चालनमा ल्याइएको पुल विश्वकै लामो भएको दाबी गरिएको छ ।

उक्त पुललाई बगालुङ नगरपालिकाले विश्वकै लामो भएको भन्दै विश्व रेकर्ड कायम गर्नका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ता प्रक्रिया समेत थालेको जनाएको छ । गत महिनाबाट पुल सञ्चालनमा आएको छ र नगरपालिकालाई हस्तान्तरण भएपछि नगरपालिकाले त्यस कार्यलाई अगाडि बढाउनेगरी तयारी गरेको हो ।

विश्वकै लामो दाबी गरिएको पुलको तथ्य प्रमाणहरु भने जुट्न बाँकी नै छ । उक्त पुल साउन १६ गते शुक्रबारबाट सर्वसाधरणका लागि खुला गरिएको छ । रामरेखा अदुवाबारी झुलुङ्गे पुल मात्र होइन बागलुङ र पर्वत जिल्ला जोड्ने गरी धेरै झुलुङ्गे पुल निर्माण भएका छन् । कालीगण्डकीको खोचमा निर्माण भएका पुल अग्ला र लामा हुने गरेका छन् । रामरेखा अदुवाबारी पुल विश्व रेकर्ड कायम गर्न सकेमा बागलुङ जिल्ला झुलुङ्गे पुलको जिल्ला भनेर विश्वले चिन्नेछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्