काठमाडौँ, १ असार  ।  नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका नेताहरुले प्रदेश नं ३ को सरकारले यस क्षेत्रको नेपाल भाषा, कला तथा संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा ध्यान केन्द्रित गर्नु पर्ने बताउनभएको छ ।

नेपाल भाषामा प्रकाशित हुने नेवा अनलाइन न्यूजको तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘नेवा आन्दोलनको मुद्दा र आजको दिशा’ विषयक विचार गोष्ठीमा उहाँहरुले प्रदेश नं ३ को नाम नेपाल मण्डल राख्नुपर्ने माग गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले उत्पीडित तथा जनजातिको माग संविधानमा अझै समेटिन नसकेको बताँउदै दुई तिहाइ कम्युनिष्टहरुको उपस्थिति रहेको संघीय सरकारले चाहेमा ३ नं प्रदेशको नाम नेपाल मण्डल घोषणा गर्न सक्ने तथा जनजाति तथा उत्पीडित वर्गलाई समावेशी प्रतिनिधित्व गराउन सक्ने बताउनुभयो ।

नेपाली काँग्रेसका महासमितिका सदस्य तीर्थराम डंगोलले विभिन्न दलमा रहेका नेवार समदायहरु एक हुन सकेमा नेवारहरुले आफ्नो हक तथा अधिकार खोसेर लिन सक्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य दिलीप महर्जनले नेपालमा प्रजातन्त्र स्थापना गर्ने हरेक आन्दोलनमा काठमाडाँैका नेवारहरुको निर्णायक भूमिका रहेको बताउनुभयो । उहाँले ३ नं प्रदेशमा नामकरण गर्दा नेवार समुदायको पहिचान झल्काउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक तथा वरिष्ठ पत्रकार मल्ल के सुन्दरले नेवार समुदायले गरेको आन्दोलनका प्रतिफल अझै प्राप्त नभएको बताउँर्दै ३ नं प्रदेशको नामकरण नेवारी जनताको भावनाअनुरुप हुनुपर्ने तथा काठमाडौँ उपत्यकामा नेवार समदायका अद्वितीय कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा प्रदेश सरकारको ध्यान जानुपर्ने औँल्याउनुभयो ।

नेवा दे दबूका अध्यक्ष नरेश ताम्राकार तथा नेवा अनलाइन न्यूजका अध्यक्ष सुजीव बज्राचार्यले नेवारी कला, संस्कृतिको महत्व र यसको संरक्षणका विषयमा बोल्नुभएको थियो । रासस

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्