सेरेमोनियल राष्ट्रपतिको भुमिका संविधानको संरक्षक हो भने कुनै पार्टीवाट निर्वाचित भएपनि सक्रिय राजनीतिकाकुनैपनि कृयाकलापवाट अलग रही पार्टीको साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र र तटस्थ रहने हो। आलांकारिक पद भएपनि लोकतन्त्र र संविधान भन्दा बाहिर गएको राजनीतिलाई सही सुझाव दिएर सही लाईनमा ल्याउन सक्ने क्षमताको अभिभावक पनि हो।

तर आलंकारीक राष्ट्रपति पनि राज्यशक्ति र अदृश्य शक्तिको आडमा संविधान विपरित काम गर्ने र अमुक राजनीतिक दलवाट निर्देशित वा अमुक दलहरुको सल्लाहकारको भुमिकामा देखिने, संविधान विपरित शक्ति र द्वैध सत्ताको अभ्यासले गर्दा संविधानको रक्षक र अभिभावक नभई चरम विवादित र असफल कार्यकाल बन्ने प्रवल सम्भावना रहन्छ।
त्यसो त सफल कार्यकाल र कम विवादित भनिएका पूर्व राष्ट्पति रामवरण यादव पनि चरम विबादमा नपरेका हैनन। पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र डा भट्टराई प्रधानमन्त्रीको वेलामा केही राजनीतिक दलहरु र भारतको उद्देलनमा परी कटुवाल काण्ड देखि द्वैध सत्ता चलाउने , “ कु” गर्ने सम्मका हर्कत, र विभिन्न कानुनी काम व्यवहारमा पारेका अडचन पनि छर्लंग छन्। त्यसैगरी राष्ट्पति विधा भण्डारी पनि कम विवादमा भने नपरेका हैनन। माओवादी केन्द्र र काँग्रेसको गठबन्दन सरकार रहदाका रवैया र विभिन्न सिफारिसहरुमा कुनै अमुक राजनीतिक दलको नेता वा सल्लाकार झै भुमिका खेलेको स्पष्ट देखिन्छ।

प्रसँग अहिले नेपालका राजनीतिक दलहरु नयाँ राष्टपति छनौटमा लागेका छन् भने यसको असर जनमानस सर्वसाधारणहरु कस्तो राष्ट्रपति छनौट गर्नुपर्छ भन्ने कुराको बहश सामाजिक संजालमा स्पष्ट देखिन्छ। आलंकारीक राष्ट्रपति भएपनि पुरानो नदोहोर्याई कुनै राजनीतिक पुर्वाग्रह नभएको तटस्थ राष्ट्रिय क्षमतावान व्यक्तित्व हुनपर्छ वा राजनीतिक दलवाट हो भने पनि पदमा निर्वाचित भईसकेपछि त्यो क्षमता कायम गर्नु सक्ने हुनपर्ने माग र स्वच्छ बहश देखिन्छ। महामहिम पदहरुका व्यक्तित्वहरुले गणतन्त्रमा पनि हिजोका राजामहाराजाहरुले गर्ने व्यवहार र कार्यशैली नअपनाउनुपर्ने सुझाव देखिन्छ, सुविधा भोगको सवालमा होस वा शक्ति र राज्यस्रोत प्रयोगको व्यवहार र कार्यशैलीमा होस। सामाजिक संजालमा एक जना अर्थविद लेख्नुहुन्छ;

“बरू, सम्माननीय राष्ट्रपति सार्वजनिक/व्यक्तिगत कामले बाहिर सवारी हुने दिन सार्वजनिक विदा दिंदा नै राम्रो। अहिलेको सार्वजनिक सास्ति त अति भो!” रामेश्वर खनाल

प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले आफ्ना स्वर्गिय नेता २०१५ सालमा निर्वाचित सांसद र वीपी कोईराला सरकारका सहायक मन्त्री दिवान सिंहकी छोरी नेतृ लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको जनाएको छ भने एमाले स्थायी समिति बैठकले बहाल राष्ट्रपति भण्डारीलाई नै दोस्रो पटक उम्मेदवार बनाउने निर्णय गरेको छ। संयोग हो वा जानाजान वनावटी राई र भण्डारी दुबैको गृहजिल्ला भोजपुर हो।

कांग्रेसले गठबन्दनलाई भण्डारीको सट्टा अरु कसैलाई राष्ट्रपतिको उम्मेदवार बनाए उम्मेदवारी नदिने सन्देश पठाएको थियो। कांग्रेसले राष्ट्रपति भण्डारी र उहाँको राजनीतिक योगदानप्रति सम्मान गर्दै राष्ट्रपति भएर खेल्नुभएको भुमिकाले राष्ट्रपति पदको गरिमा राख्न नसकेको ठहर गरेको छ । भण्डारीको उम्मेदवारीप्रति असहमति ‘रेकर्ड’ गराउन नै उम्मेदवारी दिन लागेको पनि बताएको छ। तर प्रतिनीधीसभा देखि प्रदेशसभासम्म स्थिति हेर्दा उम्मेदवार भण्डारी पुनः राष्ट्रपति हुने निश्चित जस्तै देखिन्छ।

अहिले हाम्रो नेपालको अवस्थाहरु; बत्तिमुनिको अध्यारो जस्तो , विश्रींखल गरीबी, चरम पछौटेपन, सुन्य उत्पादन, वैदेशिक ऋणभार, हिनताको राष्ट्रिय मन, व्यवहारीक भेदभावको संरचना, अव्यवस्था, पद्दती विहिन वितरण लगायतका कारण रामको ठाँउमा श्यामलाई पदस्थापन गर्नुभन्दा राष्ट्रिय एकता कायम गर्दै सवै समस्याहरुको दिगो समाधानका लागि हामीले सार्वभौम जनतावाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको शासकीय व्यवस्था आत्मसाथ उच्च समृद्दि गर्नु आजको राष्ट्रिय आवश्यक्ता हो।                                                          (पदम सिंह ठगुन्ना , अन्तराष्ट्रिय नेपाली समाज जापान – अध्यक्ष)

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्